
काठमाडौँ- केही समय अघि तारागाउँ कल्चर सेन्टरले आयोजना गरेको प्रदर्शनी ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिज्म एन्ड साउथ एसियन वुमनहुड’को नयाँ संस्करण हाल श्रीलंकाको नेशनल म्युजियममा प्रदर्शनी भइरहेको छ।
सराफ फाउण्डेसनको आयोजनामा भएको यो प्रदर्शनी सेप्टेम्बर २६ मा कोलम्बोमा श्रीलंकाकी प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले उद्घाटन गरेकी थिइन्। प्रदर्शनी अक्टोबर ८, २०२५ अर्थात् आज समापन हुनेछ।
नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिस्टको सहभागिता रहेको यो प्रदर्शनी यसअघि काठमाडौँको तारागाउँ नेक्स्टमा २०२५ जनवरी २५ देखि मे ३१ सम्म प्रदर्शन भएको थियो। क्युरेटर डा. अर्शिया लोखन्डवालाले तयार पारेको उक्त प्रदर्शनीले काठमाडौँमा २१ हजार २५१ दर्शकको आकर्षण पाएको थियो। जसमा ४ सय ८५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकले विशेष रुपमा गाइडेड टुरमा भाग लिएका थिए।
नेपाली कलाकारहरूले उक्त प्रदर्शनीमार्फत दक्षिण एसियाली महिलाको जीवनका विविध कथालाई धार्मिक र नारीवादी दृष्टिकोणसहित प्रस्तुत गरेका छन्। अश्मिना रञ्जितको कृति सीता! द आइडियल वाइफ? ले आदर्श महिलाको अवधारणा र त्यसमा आधारित सामाजिक दबाबलाई प्रश्न गरेको छ।
विधाता केसीले माइ लेफ्ट इज राइट र छोरी मान्छे भएर, केटी मान्छे भएर मार्फत महिला र अपांगताको दोहोरो चूनौती उजागर गरेकी छन्। उमा बिस्टले आई, डेभोसन र स्टे होम सिस्टर्स मार्फत कुमारीको जीवनकथा, महिनावारी प्रथा र छाउपडी जस्ता संवेदनशील विषयवस्तु उठाएकी छन्।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालका चर्चित कलाकार सहभागी यस प्रदर्शनीलाई कोलम्बोको नेसनल म्युजियम भित्रको लोटस ग्यालरीमा अवलोकन गर्न सकिन्छ। सराफ फाउण्डेशनकाअनुसार यसपछि अमेरिकाको सिकागोमासमेत प्रदर्शन गरिने योजना छ।