
काठमाडौँ– फिल्म ‘माइतीघर’ को गीतमा आयोजना गरिएकोको भिडियो प्रतियोगितामा बुटवलका दुई समूह विजेता बनेका छन्। बुटवलका सुरज सिञ्जाली मगर र बुटवल, कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह विजेता बनेको हो।
निर्माण पक्षले दुवै प्रतियोगी समूहको अंक बराबर आएकाले संयुक्त विजेता घोषणा गरिएको जनाएको छ। विजेताका लागि टिमले पाँच लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेको थियो। दुई समूह विजेता घोषणापछि टिमले पुरस्कार रकम आधारआधा गर्ने भएको छ। दुवैले दुई लाख ५० हजार पाउनेछन्।
फिल्मका निर्माता रोहित अधिकारीले भने, ‘यस पटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा साँच्चै नै कडा रह्यो। त्यसैले निर्णायक कविराज गहतराजज्यूले दुवैलाई विजेता घोषणा गर्नुभएको छ। अब हामी दुबै समूहलाई जनही साढे दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्नेछौँ।’
‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा भिडियो प्रतियोगिता आयोजना गरिएको थियो। निर्माता पक्षका अनुसार गीतमा एक हजारभन्दा बढी प्रतियोगीले भिडियो बनाएर पठाएका थिए। तीमध्येबाट कोरियोग्राफर कविराज गहतराजले निर्णायकका रूपमा दुई जनालाई संयुक्त विजेता चयन गरेका हुन्।
मिलन तामाङको निर्देशनमा बनेको फिल्म असोज १३ देखि देशभर प्रदर्शन भइरहेको छ। फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्।