
काठमाडौँ – मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो। यो पराजयसँगै पाँच खेलको उक्त शृंखलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो।
मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो। नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन्।
यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन्। साथै कविता जोशी र कविता कुँवरले समान दुईदुई विकेट लिएका थिए।