पर्यटकीयस्थलबाटै अन्नपूर्णले कमायो एक करोड १५ लाख

हिमाल प्रेस १४ असोज २०८२ २०:०७
10
SHARES
पर्यटकीयस्थलबाटै अन्नपूर्णले कमायो एक करोड १५ लाख

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट १ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चमेनागृह सञ्चालन गर्न ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दशैंलगत्तै सम्झौताको तयारी भएको छ ।

अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि ५० लाख, पाउद्वार तातोपानी कुण्डको २५ लाख र रातातोपानीको तीन लाख न्यूनतम् शुल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।

सबै पर्यटकीय स्थलको ठेक्कामा न्यूनतम्‌भन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रूपमा राजस्व जम्मा गरेर कानूनअनुसार १० प्रतिशत छुट पाएका छन् ।

५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, १५/१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभीर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार बहालबटौली कर लिने गरेको छ ।

गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा कफी सपबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा १ करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै १ करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीय स्थलको योगदान प्रमुख छ ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई १५० प्रवेश शुल्क कायम भएको छ ।

घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभीर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरू रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौं र नेपालको नवौं अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए ।

 

 

 

प्रकाशित: १४ असोज २०८२ २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast