
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जेनजी आन्दोलनपछि केन्द्रीय समिति भंग गर्ने पहिलो दल बनेको छ। माओवादी केन्द्रको शुक्रबार सम्पन्न केन्द्रीय समितिको सातौँ बैठकले केन्द्रीय केन्द्रीय समिति भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो। जेनजी पुस्ताले भदौ २३ र २४ गतेको आन्दोलनले पाका पुस्तालाई राजनीतिबाट विश्राम लिनुपर्ने लगायतका माग राखेको थियो।
बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
महाविधेशनमा जेनजी युवाको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताए।
मौजुदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन्। महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजुदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिए।
माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ। बैठकले पदाधिकारीबाटै सम्पत्ति छानबिन सुरु गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय कार्यालय, नेताको सचिवालय र परिवारको व्यवस्थापनमा नयाँ ढंगले सोच्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
क्षतिग्रस्त सरकारी संरचनाको सम्बन्धित निकायसँग समन्वय गरी पुनर्निर्माणका लागि पहल गर्ने तथा पार्टीका क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माणका लागि पार्टीका तर्फबाट पहलकदमी लिने माओवादीको निर्णय छ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपमा होमिने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारण जनतामा असुरक्षा बढेको निष्कर्ष निकाल्दै माओवादीले स्थानीय जनताको जिउधनको सुरक्षाका लागि विभिन्न तहमा जनसंयोजक परिचालन गर्ने निर्णय गरेको छ। बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरूलाई पुस्तान्तरण र रुपान्तरणको दबाब छ। यसअघि नेसपा नयाँ शक्तिको अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए। भट्टराई बदलिएको परिवेशमा जेनजी पुस्तासहितको वैकल्पिक राजनीतिको ध्रुवीकरणका निम्ति देशव्यापी रूपमा अभियानमा निस्कने भएका छन्।