
जातिप्रथाका विषयमा भारतमा धेरै पुस्तक लेखिएका छन्। नेपालीले प्रायः तिनै पुस्तक पढेर आफ्नो धारणा बनाउँछन्। पछिल्लो समय नेपालमा आएको सामाजिक परिवर्तनको चेतनाका कारण र त्यसलाई पुष्टि गर्ने बौद्धिक अनुसन्धान, अनुशीलन र अध्ययनको प्रतिरूपमा जातिप्रथाका विषयमा किताब लेखिन थालेका छन्। सामाजिक उद्बोधनको परिवर्तित रूप सामाजिक चिन्तक, प्राध्यापक, लेखक र विज्ञहरूमा समेत देखिन थालेको छ। यसै सेरोफेरोमा भर्खरै बजारमा ‘सूतपुत्र’ नामक उपन्यास देखापरेको छ।
पौराणिक आख्यानमा आधारित भएर लेखिएका गहन कृति नेपाली साहित्यमा पनि सशक्त उपस्थिति जनाएर देखिएका छन्। केही समयअघि अर्थात् गत वर्ष ‘युगसन्धि’ बजारमा आएको थियो भने त्यसभन्दा अझै अगाडि ‘द्रौपदी’ र ‘सीतायन’ देखिएका थिए। यस्ता साहित्यिक कृतिहरूले नेपाली साहित्यको धरातलीय जग बलियो बनाएका छन्। यसै मेसोलाई निरन्तरता दिँदै प्राध्यापक शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यास ‘सूतपुत्र’ लाई प्रकाशक बुकहिलले बजारमा ल्याएको छ।
सुरज मिलिन्ड एन्देले लेखेको, नोवल लोरेट अमत्र्य सेनले पृष्ठपोषण गरेको र पेन्गुयिन प्रकाशनले यसै वर्ष प्रकाशन गरेको ‘कास्ट’ अर्थात् जाति पुसतक पढ्दै थिएँ। ‘सूतपुत्र’ पनि देखेँ। यी केही पुस्तक अध्ययनपछि कस्तो लाग्दैछ भने अहिले दक्षिण एसियाका शूद्र जातिका विद्वान्हरू बौद्धिक अन्वेषण तथा अध्ययन र तर्कपूर्ण अभिव्यक्तिका माध्यमबाट जातिप्रथाविरुद्ध आन्दोलन गर्दै छन्। कोरा विरोधभन्दा शास्त्रीय माध्यमबाट गरिएको आन्दोलन बढी उपयोग र सारभूत हुन्छ भन्ने लाग्छ।
केही समयअगाडि डा. भीमराव अम्बेडकरको ‘एन्निहिलेसन’ पढेको थिएँ। उनै भीमराव जो भरतीय संविधानको लेखकका रूपमा परिचित छन्। उनी आफैँ अछुत जातिका थिए। त्यसैले उनी शूद्र हुनको पीडाको भुक्तभोगी थिए। वेदका ऋचाको समेत व्याख्या गरेर लेखिएको एनिहिलेसन वास्तवमा तत्कालीन समाजको यथार्थ चित्रण थियो। डा. अम्बेडकर आफैँले पनि यो सामाजिक बनोटविरुद्ध विद्रोह गर्दै गर्दा पनि विद्यमान परम्परागत सनातनी समाजको ढाँचा त्यागेर धेरै पर जान सक्दैनन्। जातिप्रथाको सामाजिक विभेद र अन्यायविरुद्ध विद्रोह हुँदै आएको छ। समाज विकासको गति धेरै अगाडि आउँदा पनि र चेतनाको स्तरमा उल्लेख्य सुधार आउँदा पनि समाजमा यो कुप्रथा अझै विद्यमान देखिनु शूद्रहरूको नभएर पण्डित भनिने जानकार, नेता, अगुवा, परिवर्तनका संवाहक भनिने नेता, राजनीतिक तथा सामाजिक व्यवस्थाका लागि लज्जाको विषय हो।
प्राध्यापक, सर्जक र समालोचक भएकै कारणले पनि प्राध्यापक गैरे यो जिम्मेवारीबोध गरेर प्रस्तुत उपन्यास लेखेको हुनुपर्छ। महाभारतको कथामा आधारित भएर लेखिएको हुँदा यो चिन्तनयुक्त त छ नै त्यो भन्दा पनि पर यो सामाजिक दायित्वबोधको अनन्त यात्रामा बिसाउन नसकिने बोझ पनि छ। युगयुगदेखि थिचिँदै, पिसिँदै, घिस्रिँदै, सहँदै, अपेहेलित, त्यजित, वर्जित जिन्दगीको किनाराकृत समाजको कथा के एउटा कर्णको बिम्बले मात्रा थाम्न सक्ला र? उषा, लाक्षा, नैना जस्ता नारी पात्रहरू हुन् उपन्यासभित्रका। यिनीहरू सवैको आआफ्नै कथाव्यथा छ।
गजाधर, ब्रह्मणपुत्र पिताको मार्ग अवलम्बन गर्दै अस्पृहा जातकी महिलालाई गर्भधारण गराउँछ र अरू कसैलाई भिराएर मुक्ता हुन्छ। स्त्रीदोषी समाज त हुँदै हो त्यसमाथि तथाकथित माथिल्लो जातिको यौनिक छाडापन र यौनशोषण समाजको चारित्रिक यथार्थ हो। ब्राह्मणको वीर्यबाट उत्पन्न शिशु अछुतको घरमा उसैको जात लिएर हुर्केको र सामाजिक प्रताडनामा अभ्यस्त भएको नियति कर्णकै समान होइन र? यति हुँदै गर्दा सामाजिक पाखण्डीपनाले जातीयताको आवरण त्याग्न सकेको देखिँदैन।
आर्थिक शोषण, सामाजिक शोषण, जातीय विभेद, यौन शोषणजस्ता सामाजिक विकृति र विसंगतिहरूलाई सरल र सुरुचिपूर्ण तरिकाले दर्शाइएको छ यो उपन्यासमा। उपन्यास पढ्दा सुरुमा पौराणिक कथा सुनेकै हो, के नै त्यस्तो नयाँ होला र भन्ने लाग्छ। जति पढ्दै गयो त्यति नै सुरुचिपूर्ण लाग्दै जान्छ। यस्तो हुनुको कारणको भाषागत सरलता र सामायिक परिवेशको कल्पनाशीलता। यस्तो लाग्दछ कि कथा पाठककै अगाडि घटित भएको होस्।
कर्ण आफ्नो कथा आफैँ लेख्न बसेको देखाइएको छ। उपन्यासभित्र पौराणिक तत्त्व त छ नै औपन्यासिक कल्पनाशीलता पनि प्रचुर देखिन्छ। यसभित्र पौराणिकता छ, दर्शन छ, प्रेम, बिछोड, आक्रोश, इष्र्या, वैमनश्य, धोखा, त्याग, समर्पण, वीरता, कर्तव्यपराणयता, ठट्टा, छेडखानी, व्यंग्यहरूको मिश्रण रहेको छ। कसै प्रेमको मिठास पाइन्छ छ कतै बिछोड र धोखाको। उपन्यासका लागि आवश्यक मरमसला सबै यथोचित यथास्थानमा राखेर पस्किएको छ।
त्यो समयमा पनि समाज परिवर्तनको पक्षधर महर्षि गोकर्ण रहेछन्। शोषक र शासित दुई तत्त्व नै सामाजिक विभेदका कारण हुन् भने उही बेला भनिएको रहेछ। सामाजिक बहिष्करणमा ‘डर, सामान्तवादलाई बचाइराख्ने सबैभन्दा बलियो हतियार हो।’ उसैबेला जानिएको विषय रहेछ।
शक्तिको शृंखलामा आफ्नो आधिपत्य कायम गर्न मानिस हदैसम्म जान तयार हुने रहेछ। दरबारबाहिरबाट जति भव्य देखिन्छ भित्रबाट त्यति संकीर्ण र साँघुरो। दरबारिया षड्यन्त्र भयावह हुने रहेछ। नेपालको दरबारभित्र पनि यस प्रकारको जालीझेली खेलहरू आजपर्यन्त हुँदै आएका छन्। यसभित्रको ‘प्रेम ठूलो कि अभिमान’ शीर्षक रोचक, शृंगारिक र रोमान्टिक छ। एउटा युवकको व्यक्तित्व नारीका लागि कतिसम्म आकर्षण गर्दछ भन्ने फरक कोणबाट देखाइएको छ।
साथै आफ्नो ‘लक्ष्य’ साधनामा कसरी लाग्न पर्दछ भन्ने प्रेरणास्रोत पनि। लेखकले भौगोलिक अवस्थाको यसरी व्याख्या गरेका छन् कि परशुरामको विद्यापीठ कास्की, पोखराको कुनै भाग हो कि भन्ने लाग्छ। परशुराम क्षेत्रीयहरूको घोर विरोधी हुन् भने विश्वामित्र क्षेत्रीय र वशिष्ठ विरोधी र उनै वशिष्ठले विश्वामित्रलाई ब्राह्मण स्वीकारेका हुन् भन्ने कथा अगाडि राख्दै जातीय व्यवस्था कर्मका आधारमा गरिएको हो भन्ने तर्क राखिएको छ। तर्कलाई पुस्ट्याइँ गर्दै वेदबाट साभार गर्दछन्, ‘ब्राह्मणोस्यमुखमासीद्बाहुराजन्न्यः कृतः ऊरुतदस्ययद्वैश्यः पदभ्याम् शूद्रोऽअजायत।’ शिक्षा दिनु ब्राह्मणोचित कर्म हो, युद्ध गर्नुृ क्षेत्रीयोचित। व्यापार गर्नु वैश्योचित र सेवा गर्नुृ शूद्रोचित भनिएको हो। जन्मका आधारमा नभएर कर्मले निर्धारण गरिनुपर्छ भन्ने मत रहेको देखाइएको छ।
पुस्तकको सबै पक्ष राम्रा छन् भन्दै गर्दा केही विवरण अनमेल देखिएको हो कि झैं लाग्छ। ‘बारुद र विषाक्त रसायनको गन्ध फैलिएको थियो,’ भन्दा त्यस समयमा बारुदको आविष्कार नभएको अवस्थामा कसरी बारुद पड्किए भन्ने अस्वाभाविक लाग्छ। हुन त कुरु क्षेत्रमा न्युक्लियर आयन देखिए भनेर कही अन्वेषकहरूले भनेको अप्रमाणित कुराहरू पनि बाहिर आएका छन्। औपन्यासिक नै भए पनि अलि तथ्यपरक भए हुने थियो भन्ने अपेक्षासम्म हो।
लेखकले कर्ण युद्धका लागि सेनापति नियुक्त भएपछि आफ्नो कथा लेख्न छोडे। युद्ध सकिएपछि शिविरमा भएको कर्णको सामान मालालाई हस्तान्तर गरिएको र त्यसपछिको बाँकी खण्ड मालाले लेखेको देखाइएको छ। योद्धा आफैँले वीरगति पाएपछि उसको हातले कसरी कथा लेखोस्। त्यो सम्म त ठीकै हो। तर लेखकले अलि हतार गरेर एघारौँ र बाह्रौँ दिन विशेष रहेनन् भनिएको छ। ती दिनमा कर्णले केही पनि लखेनन्। तेह्रौँ दिन भीषण युद्ध भयो। सत्रौँ दिनको दिन कर्णले वीरगति प्राप्त गरे। यहाँ अलि हतार गरेर उपन्यास तुर्न खोजेको लाग्दछ। एघारौँ र बाह्रौँ दिनमा पनि कर्णको लेखन केही विवरण थपेको भए हुन्थ्यो होला भन्ने लाग्छ।
दसैँको बिदा सदुपयोग गर्नका लागि ‘सूतपुत्र’को अध्ययन एउटा उपयोगी विकल्प हो भन्ने लाग्दछ। पुस्तक पठनीय र मननीय छ। लेखक गैरेको यो कृति ८२ सालमा प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये पर्दछ।