
काठमाडौँ- वर्ष दिनको ठूलो चाड दसैँमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, परिवार, साथीभाइ, आफन्त भेट्ने रहर कसलाई पो हुँदैन् र! भ्याएसम्म विजया दशमीअघि नभ्याए दशमीपछि पनि टीका लगाउन प्रायः मानिस आफन्तकहाँ पुग्छन्।
तर यस वर्ष कतिपयलाई भने केही साताअघि भएको जेनजी आन्दोलनको प्रभावले दसैँको खुसी छाएको छैन। देशको वर्तमान स्थिति, बदलिँदो परिवेशले यस वर्षको महान् पर्वमा पनि केही धक्का लागेको छ। आन्दोलनमा ज्यान गुमाएका परिवार शाेकमा छन् या भनाै देश नै शाेकमा छ। घाइते भएका मानिसहरू अस्पतालमा उपचाररत छन्। आन्दोलनको यस्तो विकराल स्थिति ताजै भएकोले कतिपय दसैँ पर्व मनाउने प्रचलनलाई अगाडि बढाउनेजस्तो मात्रै हुने बताउँछन्।
तैपनि गाउँ/सहरमा चाडपर्वको चहलपहल बढिसकेको छ। रोजगारी, अध्ययन र विभिन्न व्यवसायका क्रममा सहर बस्नेहरू गाउँ फर्किएका छन्। कोही फर्किने क्रममै छन्। विविध कारणले घर जान नपाएकाहरू उपत्यकामै आफन्तसँग दसैँ मनाउने कतिपयको योजना छ।
त्यसो त सबैको दसैँ मनाउने योजना फरकफरक हुन्छन्। दसैँतिहारमा लामो बिदा हुने भएकोले आमदर्शकमा पनि चासोको विषय रहन्छ कि कलाकार पर्व बिदाको समय कसरी सदुपयोग गर्छन् भन्ने।
विशेषगरी कलाकारको व्यस्त दैनिकी हुनाले कतिपयको त झन् दसैँ मनाउने टुंगो हुँदैन। कोही कार्यक्रमको शिलशिलामा देशविदेशतिर व्यस्त हुन्छन्। केही दसैँ विशेष प्रदर्शन हुने फिल्मको प्रचारप्रसारमै व्यस्त देखिन्छन् त केही भने दसैँमा कामको बोझबाट मुक्त भएर परिवारसँग नै रमाउन र समय व्यथित गर्न चाहान्छन्।
केही कलाकारसँग उहाँहरूको दसैँ योजनाबारे कुराकानी गरेका छौँ। कसरी दसैँ मनाउँदै छन् त? उनीहरूकै शब्दमाः
नीति शाह
मेरो घर दाङ भए पनि हामी काठमाडौँमै बस्ने भएकोले विगतदेखि नै यतै दसैँ मनाउँदै आइरहेका छौँ। दसैँ भन्ने बित्तिकै परिवार भेट हुने, रमाइलो गर्ने भन्ने नै हो। दसैँतिहारको बीचमा फिल्म छायांकन, डबिङको कुनै काम हुन्न। यो समयमा सबैजना गाउँ जानुहुन्छ।
दसैँ भन्नेबित्तिकै मलाई दाजुभाइ, दिदीबहिनी भेटेको याद आउँछ। उहाँहरू पढाइ, रोजगारीका क्रममा टाढा बस्नुहुन्थ्यो। प्रायः दसैँमा घर फर्किने हुन्थ्यो। उहाँहरूसँग मिलेर तास खेलेको, टीका लगाएको, मिठो परिकार खाएको नै सम्झिन्छु। यिनै कुराले रमाइलो आभास दिलाउँछ।
तर, यसवर्ष खै के दसैँ भन्ने। देशको अवस्था यस्तो छ। नसोचेको कुरा भयो। खासै पहिलेजस्तो दसैँको मुडमा नै छैन। देशको बदलिँदो स्थितिले हाम्रो धेरै कामहरू रोकियो। चाडपर्वपछि चुनाव हुने भनिएको छ, देशमा के होला भन्ने भइरहेको छ।
दसैँमा परिवारसँग त भेटिन्छ। केही ‘फ्रेस’ भइन्छ होला तर पनि परिवारसँग बस्दा पनि देशकै अवस्थाबारे कुराकानी हुनेछ। गत वर्षजस्तो दसैँको उत्साहित, खुसी हुन नसकिने अवस्था छ। देशको माहोल नै यस्तै छ।
भोलाराज सापकोटा
दसैँमा घर जान्छु हेटौंडा। उता बुबा हुनुहुन्छ। परिवार भेटघाट र रमाइलोमै बित्छ। घरमा टीका लगाएपछि आफन्तकोमा जाने, उहाँहरू पनि आउनुहुन्छ। यस्तै हो। दसैँको बिदामा हाम्रो काम हुँदैन। दसैँतिहारपछि सुरु हुने त छदैँछ। मुख्यतः दसैँको समयमा साथीभाइ, परिवार, आफ्न्त भेटघाट नै विशेष हो। आफ्नो कामले परिवारसँग समय व्यथित गर्न पाइरहेका हुँदैनौं। यही बिदामा हो, सबैसँग भेट हुने पनि। हामी परिवारसँग प्रत्येक वर्ष मकवानपुरकै स्थानिय पर्यटकीय स्थल भ्रमणमा जाने गरेका छौँ। सबै भेटघाट भएपछि योजना बन्छ, अनि जान्छौँ।
दसैँ भन्नेबित्तिकै मलाई पिङको याद आउँछ। हेटौंडा बजार भए पनि मेरो घरसम्म गाडी पुग्दैनथ्यो। पहिले काठमाडौँमै संघर्ष गर्दा आधा बाटो गाडी चढेर हिँड्दै घरसम्म पुग्थ्यौँ। बाटोमा भेटिएकाहरू सबैले सञ्चो बिसिन्चो सोध्नुहुन्थ्यो। सबैसँग बोल्दै हिडिन्थ्यो। पहिले साँझको बेला गाउँका सबसँग भेटघाट हुने र मिलेर गीत गाउने गरिन्थ्यो। त्यो अहिले पातलिँदै गएको छ।
संगीता थापा मगर
दसैँमा मुख्य त घर गइन्छ। फूलपाती अघि नै घर पुगेर रंगरोगनतिर लाग्ने योजना छ। यसले दसैँको ‘भाइब्स’ ल्याउँछ। हाम्रो संस्कृतिमा दशमीकै दिन आफन्तको हातबाट टीका ग्रहण गरिन्छ। मामाघर र अन्य आफन्तको घर नजिकै भएकोले पनि यो संम्भव भएको हो। भोलिपल्टबाट घरमा आउने पाहुनाहरूलाई समय छुट्याइन्छ।
बिदामा परिवारसँगै समय बिताउनेछु। गाउँमै बसेर परिवारलाई सघाउनेछु। त्यो बाहेक समय मिलाएर दुईओटा फिल्मको स्क्रिप्ट र दुईओटा आख्यान पढ्ने योजना बनाएकी छु। फिल्म कुन भनेर अहिले नखुलाउ होला। आख्यानमा कवि छुदेन काविमोको उपन्यास ‘उरमाला’ र क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ पढ्नेछु।
दसैँ भन्नेबित्तिकै सानो बेलाको याद आउँछ। नयाँ कपडा लगाएको। रातो टीका जमरा र आफन्तले दिनुभएको आशीर्वाद। यही नै सम्झिन्छु। अहिले पनि यस्तै हो। यसवर्ष कपडाको सट्टा किताब किनेकी छु।
दिव्यदेव पन्त
यस वर्ष दसैँ काठमाडौँमै बस्ने योजना छ। आन्दोलनले रोकिएका केही कामले फूलपातीसम्म व्यस्त हुनेछु। त्यसपछिका दिन विदेशबाट आफन्त पनि आउँदै हुनुहुन्छ। यस्तै उपत्यकामै आफन्त भेटघाट र कुराकानीमै बित्नेछ।
मेरो घर सुदूरपश्चिम धनगढी हो। सधैँ दसैँमा घर गइन्थ्यो। यसपाली पहिरो र अन्य कामले पनि जान सकिएन। तर पनि एकदमै सामान्य तरिकाले ससुरालीमा दसैँ बिदाको समय व्यथित गर्ने तयारी छ।
म शाकाहारी हुँ। टीकाको दिन मन्दिर जाने, टीका लगाउने यस्तै नै हुन्छ भनम्। दसैँ भनेर पहिलेदेखि ‘फ्यासिनेटेड’ त हुँदैनथे। चाडपर्वलाई निरन्तरता दिनेजस्तो मात्र हो।
विगतझैँ यसवर्ष दसैँको उत्साह कमै हुनेछ। किनभने हालसालै देशको अवस्था यस्तो भएको छ। नराम्रो घटनाहरू घटेका छन्। धेरै युवा भाइबहिनीले ज्यान गुमाउनुभएको छ। त्यसैले दसैँ भनेर अन्य वर्षजस्तो मनमा उत्साह छाएकै छैन।
दसैँ भन्नेबित्तिकै मलाई पहाड घर बैतडीमा बाल्यकाल बिताएको याद आउँछ। बाल्यकालमा दसैँमा लगाइने नयाँ लुगा। घटस्थापनादेखि रेडियोमा बझ्ने मालश्री धुन। रेडियोमै दसैँको विज्ञापन र दसैँ विशेष गीत बझेको। बुबाले कताकताबाट खोजेर क्यासेट किनेर ल्याउनुभएको। अझ भनौं, महजोडीको क्यासेट भन्थ्यौं। यस्तै सम्झिन्छु। त्यहाँ हामी थोरै ५/७ घर थियौँ। म एकदम सामान्य परिवारमा हुर्केकोले त्यस्तो खुसीयाली कहिल्यै भएन। परिवारसँग बसेर टीकाटालो नै हो। दसैँमा मासु पनि छरछिमेक मिलेर बल्ल तल्ल भाग पुग्थ्यो। अहिले सम्झिँदा त्यसको सौन्दर्य आफ्नै किसिमको थियो जस्तो लाग्छ।
पशुपति राई
दसैँ त परिवारसँग बसेर नै मनाउने हो। घर पुगिसके, धरान। दसैँको दिन टीका लगाउने, मिठा-मिठा परिकार पकाएर खाने यस्तै नै हुन्छ। परिवार सबैसँगै भएपछि नजिकैका पर्यटकीय स्थलतिर घुम्न गइन्छ।
दसैँतिहारको बिदामा गाउँमै बस्छु। परिवार साथीभाइसँग समय बिताउँछु। यो बिदामा भनेको काम सकेर बल्ल आराम गर्न पाएजस्तो अनुभूति हुन्छ। हाम्रो संस्कृतिअनुसार दशमीको दिन बिहान मन्दिरतिर जान्छौँ। त्यसपछि टीका लगाइन्छ। हाम्रो जमरा राख्ने, नवरात्रि पूजा गर्ने भन्ने हुँदैन। फूलपातीको दिन सबै मिलेर रमाइलो गर्छौँ। बेलुका सबै परिवार, आफन्त मिलेर खाना खान्छौँ। दसैँमा त खाने काम नै हुन्छ बढी, हा..हा..हा..।
दसैँ भन्नेबित्तिकै नयाँ लुगाकै याद आउँछ मलाई त। बाल्यकालमा विद्यालय छुट्टी हुने भनेर याद आउथ्यो। युवा हुँदै गएपछि काठमाडौँ प्रवेर गरियो। त्यसपछि, दसैँ शब्दले घर जाने दिन आयो भन्ने नै सम्झना आउँछ। मुख्यतः चाडपर्व एक उत्सव हो, परिवार भेट्ने, रमाइलो गर्नेे। अन्य योजनाहरू खासै बन्दैनन्।
सेविता अधिकारी
मेरो घर ताप्लेजुङ हो। तर हामी सबै परिवार काठमाडौँमै भएकोले यतै दसैँ मनाउँदै आइरहेका छौँ। उपत्यकामै भएपछि केही फिल्मका काम पनि भइरहेको हुन्छ। फिल्म डबिङहरू चलि नै रहेको छ। दसैँको बिदामा पनि कामकै चाँपमा छु। त्यस्तो विशेष त केही छैन। दसैँ परिवार र आफन्तसँग रमाइलो गर्दै मनाउने हो।
दसैँ भन्ने बित्तिकै बुबा आमाले टीका लगाएर दिनुभएको आशीर्वादको याद आउँछ। विशेषत बाबाले लयमा भन्नुहुने त्यो आशीर्वाद। मलाई दसैँको टीका र जमराको कलरले पनि लोभ्याउँछ। मैले अभिनय गरेको फिल्म ‘अभिमन्युः च्याप्टर वान’ दसैँ सकिएलगत्तै असोज २४ देखि प्रदर्शन हुनेछ। हलमा लागेपछि त्यतैतिर व्यस्त भइन्छ।