पर्यटन बजारमा जेन जेड आन्दोलनको धक्का

आशा थपलिया ८ असोज २०८२ ११:४९
18
SHARES
पर्यटन बजारमा जेन जेड आन्दोलनको धक्का

‘संकटको बेला गरिने प्रभावकारी सूचना प्रवाह, राम्रो शासन व्यवस्था र स्तरीय सार्वजनिक सेवाले कुनै पनि ठाउँलाई आकर्षक गन्तव्य बनाउन मद्दत गर्छ।’ सन् २०२५ मा ‘टुरिजम एन्ड हस्पिटालिटी’ नामक जर्नलमा प्रकाशित एक लेखको निष्कर्ष हो। सो जर्नलमा प्रकाशित ‘पर्यटनमा जोखिम र लचिलोपन : राजनीतिक अस्थिरता र सामाजिक अवस्थाले पर्यटकीय गन्तव्यको छनोटमा कसरी प्रभाव पार्छ’, शीर्षकको शैक्षिक अनुसन्धानमूलक लेखबाट यो निष्कर्ष निकालिएको हो।

जेन जेडको आन्दोलनका कारण मुलुकको पर्यटकीय क्षेत्रमा देखिएको प्रतिकुल प्रभावपछि यही दृष्टिकोण अहिले नेपालमा प्रासंगिक बनेको छ। गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनले अन्तर्राष्ट्रिय जगतमा नेपालबारे अन्योलको सूचना प्रवाहित भएको हुँदा पर्यटक आगमनमा कमी आउने सम्भावना प्रबल छ। जोखिममा पुगेको पर्यटकीय गन्तव्यको पुनरुत्थान हुन कति समय लाग्छ भन्न सकिने अवस्था छैन।

पर्यटक आगमनमा सेप्टेम्बरमा मात्र ४० प्रतिशतले कमी आउने अनुमान सार्वजानिक भइसकेको छ। लाखौँ डलरको विदेशी मुद्रा आर्जनदेखि झण्डै १२ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको पर्यटन क्षेत्र धराशयी भएको छ।

हुन त विगतमा यस किसिमका आन्दोलन भएका मुलुकमा स्थिरता आउन नै महिनौँ लागेका उदाहरण छन्। नेपालका सन्दर्भमा सकारात्मक पक्ष के देखियो भने दुई दिनको आन्दोलनपछि एक साताभित्र तात्कालिक राजनीतिक निकाससमेत निस्किएर जनजीवन सामान्य भइसकेको छ। विगतमा पनि २०७२ सालको भूकम्प र कोभिड १९को प्राकृतिक विपद्पछि नेपालले द्रुत गतिमा पुनरुउत्थान गरेको उदाहरण हामीसँग ताजै भएको हुँदा आशा गर्ने ठाउँ देखिन्छ।

कोभिड-१९ महामारीपछि चार वर्षको अवधिमा नेपालको पर्यटन क्षेत्र लयमा फर्किँदै थियो। सन् २०२२ मा ६ लाख १४ हजार पर्यटक भित्र्याएको नेपालले २०२३ मा १० लाख १४ हजार, २०२४ मा ११ लाख ४७ हजार पर्यटक भित्र्याएको थियो। सन् २०२५ जनवरीदेखि जुलाईसम्ममा ६ लाख ४७ हजार ८ सय बढी पर्यटक भित्रिसकेको तथ्यांक छ।

पर्यटन बजार क्रमिक रूपमा तंग्रिदै गएको समयमा जेन जेडको विध्वंसकारी आन्दोलनले ठूलो धक्का दिएको छ। प्रदर्शनलाइ विध्वंसकारी यस अर्थमा भनिएको हो कि यसमा ७२ जनाले ज्यान गुमाए। निजी क्षेत्रले ८० अर्ब बराबरको क्षतिको आकलन गरेको छ।, होटल व्यवसायीहरुले नै २५ अर्ब बराबरको नोक्सानी भएको बताइसकेको अवस्था छ, जसमध्ये ८ अर्ब लगानीको हिल्टन होटलसमेत रहेको छ।

यसअघि मुलुकमा भएका कुनै पनि जनआन्दोलनमा यस किसिमको मानवीय र भौतिक क्षति भएको थिएन भनेर विश्लेषण भइरहेको छ। सुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शनमा घुसपैठ भयो कि योजनाबद्ध थियो भन्ने प्रश्न ‘कन्सपिरेसी थ्योरी’ का रूपमा चर्चामा छ।

चुरो कुरो के हो भने यस किसिमका आन्दोलनपछि नेपाल मात्र होइन विश्वका जुनसुकै मुलुकको पनि पर्यटन बजार स्वाभाविक रूपमा प्रभावित हुन्छ। यसलाई अल्पकालीन प्रभावका रूपमा लिएर अघि बढ्नुको विकल्प हुँदैन।

अन्तर्राष्ट्रिय स्तरमै यस्ता आन्दोलन भइरहेका छन्। विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य रहेका एसियन, युरोपियन तथा अमेरिकामा पनि फरकफरक कारणका नाममा आन्दोलन भइनै रहेको छ। हङकङ र थाइल्यान्डमा भएको युवा आन्दोलन महिनौँ चलेको थियो। बिस्तारै मुलुकहरुले पर्यटन उद्योगलाई लयमा फर्काउन सफल भएका छन्। दक्षिण एसियाली मुलुकमध्ये श्रीलंकाले पुनरुउत्थानमा राम्रो उदाहरण प्रस्तुत गरेको छ। इन्डोनेसिया भर्खरै भएको आन्दोलनपछि पर्यटकीय बजारलाई सन्तुलित बनाउने प्रयासमा छ। तर बंगलादेशको अवस्था भने अन्योलमै छ। यी देशहरुको आन्दोलन र पर्यटकीय क्षेत्रबारे चर्चा गरौँ-

युवा आन्दोलन र हङकङको पर्यटन उद्योग

सन् २०१९ मा हङकङ सरकारद्वारा प्रस्तावित प्रत्र्यपण विधेयक (एक्स्ट्राडिसन बिल) को विरोधमा भएको विशाल युवा आन्दोलनले यस क्षेत्रको पर्यटनलाई नराम्ररी प्रभावित गरेको थियो। प्रत्यर्पण विधेयकमा अपराधमा संलग्न भएको आरोप लागेका वा सजाय पाएका व्यक्तिलाई एउटा क्षेत्र/देशबाट अर्को क्षेत्र/देशमा लगेर कारबाही गर्न दिने कानुनी व्यवस्थाको थियो। यसै प्रावधानको विरोधमा युवाहरुको सहभागितामा सुरु भएको यो आन्दोलन बिस्तारै विशाल जनआन्दोलनमा रूपान्तरण भयो, परिणामस्वरूप विधेयक पारित हुन सकेन र यो फिर्ता भयो।

नौ-दस महिना लामो समयसम्म चलेको सडक प्रदर्शन, विश्वविद्यालयमा धर्ना र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुँदा हङकङको विश्वव्यापी छवि प्रभावित भयो। आन्दोलन उत्कर्षमा पुगेपछि हङकङको पर्यटक आगमनमा ४० प्रतिशतले गिरावट आयो। लगत्तै कोभिड-१९को चपेटाले हङकङको पर्यटन क्षेत्रको पुनरुत्थान तत्काल म्ंभव हुन सकेन। यद्यपि २०१९-२०२३ को अवधिमा आंशिक पुनरुत्थान गरेको हङकङको पर्यटन उद्योग २०२५ सम्म आइपुग्दा लयमा फर्किएको छ।

सन् २०२४ मा हङकङमा करिब ४ करोड ४५ लाख पर्यटक पुगेका थिए। यो आँकडा सन् २०१८ को भन्दा झण्डै तीस प्रतिशतले कम भए पनि अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढेको थियो। २०१८ मा हङकङगमा ६ करोड ५० लाख पर्यटक पुगेका थिए। सन् २०२५ को पहिलो ६ महिनामा मात्र ४ करोड ७४ लाख पर्यटक आगमनले हङकङको पर्यटन उद्योग तंग्रिएको स्पष्ट देखिएको छ।

थाइल्यान्डको युवा आन्दोलन र पर्यटन उद्योग

थाइल्यान्डमा सन् २०१४ मा सेनाको कुपछि लोकतन्त्र पक्षधर विद्यार्थीले चुपचाप विरोध गर्दै आएका थिए। सन् २०२० मा राजनीतिक कार्यकर्ता समूह फ्री युथले व्यापक प्रदर्शनको आयोजना गरे। सो प्रदर्शनमा हजारौँ विद्यार्थी सहभागी भए । २०२१-२०२२ मा आन्दोलनको नेतृत्व नयाँ पुस्ता विशेषगरी विश्वविद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीले गर्न थाले।

थाई युवा आन्दोलनले तीनवटा प्रमुख माग अगाडि सारेका थिए। प्रधानमन्त्री प्रयुत चान-ओ-चाको राजीनामा, दोस्रो, जनताको प्रतिनिधित्व गर्ने नयाँ संविधान निर्माण र तेस्रो राजसंस्थाको सुधार। यो माग सबैभन्दा विवादास्पद रहयो। किनभने थाइल्यान्डमा राजालाई आलोचना गर्नु कानुनी रूपमा अपराध मानिन्थ्यो। तर युवाले राजसंस्थाको पारदर्शिता र उत्तरदायित्वको माग गरिरहेका थिए।

२०२०को जुलाइदेखि शुरु भएको यो विरोध प्रदर्शन मार्च २०२१ सम्म उत्कर्षमा रहयो । जसले थाइल्यान्डको पर्यटन उद्योगमा प्रतिकुल प्रभाव देखियो। थाइल्यान्डले सन् २०१९ मा करिब ३ करोड ९८ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू भित्रयाएको थियो।

युवा आन्दोलन तथा कोभिडको दोहोरो मारमा परेको मुलुकमा सन् २०२० मा ६७ लाख पर्यटक मात्र आएका थिए। यो ८३ प्रतिशतको गिरावट थियो। पर्यटन पुनरुत्थानमा प्रयासरत मुलुक सन् २०२४ मा करिब ३ करोड ५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सफल भएको छ। मुलुकले यो आर्थिक वर्षमा २०१९ अघिकै अवस्थामा फर्किने अनुमान गरेको छ।

अब एकैछिन दक्षिण एसियाली मुलुकतर्फ फर्कौँ-

श्रीलंकाको आन्दोलन र पर्यटन उद्योग

श्रीलंकामा सन् २०२२ मा आर्थिक संकट, मुद्रास्फिति, खाद्यान्न र इन्धनको अभाव र सरकारी भ्रष्टाचारविरुद्ध व्यापक जनआन्दोलन भयो। करिब छ सात महिना चलेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जा गरेपछि तत्कालीन राष्ट्रपति गोताबाय राजपाक्षे देश छोडेर भागे र राजीनामा दिए। राजपाक्षेको बहिर्गमनपछि संसद्ले रानिल विक्रमसिंघेलाई नयाँ राष्ट्रपतिमा नियुक्त गर्‍यो। उनले देशको आर्थिक अवस्था सुधार गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ अर्ब ९० करोड डलरको बेलआउट प्याकेज प्राप्त गरे।

सन् २०२२ मा श्रीलंकामा करिब ७ लाख १० हजार पर्यटक भित्रिए, जुन सन् २०२१ को तुलनामा बढी भए पनि महामारीभन्दा अगाडिको अवस्थाभन्दा निकै कम थियो। २०२२ को अन्त्यतिर राजनीतिक स्थिरता आउन थालेपछि पर्यटन क्षेत्रमा सुधार देखिन थाल्यो। २०२३ मा पर्यटकको संख्या बढेर १४ लाख ९० हजार पुग्यो।

सन् २०२४ मा २० लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिए। जुन सन् २०१९को पूर्व महामारीको स्तरभन्दा पनि बढी थियो। भारत, रूस र बेलायतजस्ता देशहरू श्रीलंकाका लागि प्रमुख पर्यटक स्रोतका रूपमा रहे। सन् २०२५ को जनवरीदेखि अगस्ट २०२५ सम्म १५ लाखभन्दा बढी पर्यटक श्रीलंका पुगेका छन्।

नयाँ सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। समग्रमा, २०२२ को आर्थिक र राजनीतिक संकटपछि श्रीलको पर्यटन क्षेत्रले सफलतापूर्वक पुनरुत्थान गरेको छ।

बंगलादेशको आन्दोलन र पर्यटन

बंगलादेशमा परिस्थिति भिन्न छ। आर्थिक कुशासन र व्यापक भ्रष्टाचारप्रतिको असन्तुष्टिका कारण सन् २०२४ को जुलाई र अगस्तमा भएको व्यापक विद्यार्थी विरोध प्रदर्शनले बंगलादेशका तत्कालीन प्रधानमन्त्री सेख हसिनाको १५ वर्ष लामो शासन सत्तासत्ता उल्टाइदिएको थियो। मध्य जुन २०२४मा विद्यार्थीको सरकारी आरक्षणविरुद्ध थालिएको आन्दोलन ४ अगस्तमा प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि साम्य भएको थियो। हसिनाको बहिर्गमनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा एउटा अन्तरिम सरकार गठन गरियो।

अन्तरिम सरकारले मुख्य लक्ष्य भनेकै नयाँ र निष्पक्ष निर्वाचन गराउनु भए तापनि एक वर्ष बढी समय बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन। देशमा अझै पनि राजनीतिक अस्थिरता कायमै छ।

यसले बंगलादेशको पर्यटन आगमन आगमनको संख्यामा ठूलो गिरावट आएको छ। सन् २०२२ र २०२३ मा कोभिड महामारीबाट बिस्तारै बाहिर निस्कँदै देशकोे पर्यटन क्षेत्र सुधार भइरहेको थियो। सन् २०२३ मा लगभग ६ लाख ५० हजार विदेशी पर्यटकले बंगलादेशको भ्रमण गरे। जुन कोभिड पूर्वको अवस्थामा पुग्न लागेको संकेत थियो।

धेरै देशहरूले आफ्ना नागरिकका लागि बंगलादेशको यात्राबारे चेतावनीसहितको सूचना जारी गरे। राजनीतिक अस्थिरता र असुरक्षाको घटनाले बंगलादेशका बारेमा नकारात्मक धारणा फैलायो, जसले गर्दा पर्यटकहरू त्यहाँ जान डराउन थाले। अन्तरिम सरकारले आर्थिक सुधार गर्ने, स्थिरता कायम राख्ने र अन्तर्राष्ट्रिय छवि सुधार्ने जस्ता चुनौतीको सामना गरिरहेको छ।

हाल पर्यटनको पुनरुत्थान राजनीतिक स्थायित्व र सुरक्षा अवस्थामा निर्भर रहेको देखिन्छ। यता अन्तरिम सरकारले सन् २०२६ को मध्यसम्ममा आमनिर्वाचन गराउने योजना बनाएको छ, जसले राजनीतिक वातावरणमा अनिश्चितता थपेको छ।

समग्रमा

नेपालमा भएको जेन जेड आन्दोलनपछि अन्तरिम सरकार बनेको छ। यो सरकारले आउँदो फागुन २१ गते निर्वाचन मिति तोकेको छ। जसले मुलुकमा राजनीतिक स्थायित्वको सन्देश दिनेछ। धेरै पर जानै पर्दैन, बंगलादेशमा एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अन्तरिम सरकारले निर्वाचन गराउन सकेको छैन। नेपालमा पनि अन्तरिम सरकारले तोकेको समयमा निर्वाचन गराउन सकेन भने अन्तर्राष्ट्रिय बजारमा जाने सन्देश भनेको राजनीतिक अस्थिरता नै हो। त्यसै पनि जेन जेड आन्दोलनका समयमा भारतीय र क्यानेडियन नागरिकले ज्यान गुमाएपछि यी मुलुकहरुले एडभाइजरी नै जारी गरे। सुरक्षित गन्तव्यको नेपालको छवि धमिलिएको अवस्था छ।

नेपालको मुख्य पर्यटक स्रोत मुलुकमा भारत, चीन, अमेरिका तथा युरोपेली मुलुक पर्दछन्। यी मुलुकमा पर्यटकीय गन्तव्यका रूपमा नेपाल सुरक्षित छ भन्ने सूचना तथा सन्देश जति प्रभावकारी रूपमा पुर्‍याउन सक्यो त्यति नै छिटो पर्यटक आगमन बढी हुन्छ। आन्तरिक पर्यटनलाइ पनि सँगसँगै बढाउनुपर्ने देखिन्छ।

प्रकृतिको अनुपम वरदान पाएको नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूमा आधारित पर्यटन तथा साहसिक पर्यटनको सम्भावना अझै प्रचुर छ। त्यसैले अहिलेको अवस्थामा गर्नुपर्ने पहिलो काम सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा नेपाल बारे विश्व बजारमा प्रभावकारी सूचना प्रवाह गर्नु, दोस्रो मुलुकमा राम्रो शासन व्यवस्था लागू गर्नु र तेस्रो गुणस्तरीय सार्वजनिक सेवाले पर्यटकलाइ लोभ्याउने काम गर्नुपर्ने देखिन्छ। त्यसैले पर्यटन उद्योगको उत्थानलाई दिगो र दीर्घकालीन बनाउन सरकार, निजी क्षेत्र तथा अन्य सरोकारबाला निकायहरुको समन्वित प्रयास आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast