प्रधानमन्त्री कार्कीसँग भारतीय प्रधानमन्त्री मोदीले भने- शान्ति र स्थायित्व पुनःस्थापना गर्ने प्रयासमा अटल समर्थन छ

हिमाल प्रेस २ असोज २०८२ १२:५४
74
SHARES
प्रधानमन्त्री कार्कीसँग भारतीय प्रधानमन्त्री मोदीले भने- शान्ति र स्थायित्व पुनःस्थापना गर्ने प्रयासमा अटल समर्थन छ

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति र स्थायित्व पुनःस्थापना गर्ने प्रधानमन्त्री सुशीला कार्कीको प्रयासप्रति भारतको अटल समर्थन रहेको बताएका छन्। उनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मोदीले फोनवार्तापछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग हार्दिकतापूर्ण छलफल गरेँ। हालै भएको दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै शान्ति र स्थायित्व पुनःस्थापना गर्ने उहाँको प्रयासप्रति भारतको अटल समर्थन पुनः व्यक्त गरेँ।’

मोदीले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) का अवसरमा कार्कीसहित नेपाली जनतालाई हार्दिक शुभकामना प्रेषित गरेका छन्।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल-भारतबीचको सदीयौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गरेकी थिइन्। साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन्।

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेबित्तिकै कार्कीलाई मोदीले बधाई सन्देश पठाएका थिए। उनले प्रधानमन्त्री कार्कीको कार्यकालमा नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरेका थिए।

यसैगरी मोदीले एक सार्वजनिक भाषणबाटै प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए। मोदीले शनिबार भारतको मणिपुर राज्यमा आयोजित एउटा कार्यक्रममा भनेका थिए, ‘अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकोमा १४० करोड भारतीयका तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन्छु। मलाई विश्वास छ- नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्गप्रशस्त गर्नेछन्।’

मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्की आउनु महिला सशक्तीकरणको उत्तम उदाहरण रहेको पनि बताएका थिए। ‘म नेपालका हरेक व्यक्तिको सराहना गर्छु, यस्तो अस्थिरताको वातावरणमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखे,’ मोदीले भनेका थिए।

प्रकाशित: २ असोज २०८२ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast