
पोखरा- जेनजी आन्दोलनका क्रममा पोखराबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए। गत सातादेखि भागेका तीमध्ये हालसम्म ३ सय जना मात्र कारागार फर्किएका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि सबै प्रहरीलाई र हिरासतमा रहेकाहरुलाई बाहिर पठाई आगजनी गरेका थिए।
यस्तै आन्दोलनकारीहरुले विभिन्न सुरक्षा निकाय र सुरक्षाकर्मीका हतियार पनि लुटेर लगेका थिए। मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिरहेको र ठूला चाडपर्वहरु पनि नजिकिएको हुँदा सुरक्षा चुनौती उत्तिकै छ।
यसैक्रममा मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा प्रदेश सुरक्षा समन्वय समिति बैठकले ६ बुँदे निर्णय गरेको छ। लुटिएका हतियार फिर्ताका लागि सर्वप्रथम सञ्चारमाध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुनबमोजिम कारबाही प्रक्रियामा लैजाने निर्णय गरिएको छ।
यस्तै सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ-आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ। शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने, बदलिँदो परिस्थिति र सम्भावित शान्तिसुरक्षा चुनौतीको मध्यनजर गरी स्थानीय नागरिक समाजसमेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्तिसुरक्षालाई सामान्य बनाइराख्ने निर्णय गरिएको छ।
बैठकले वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने, चाडपर्वलक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ।
गत २३ र २४ भदौमा जेनजीको आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्तिसुरक्षामा परेको प्रभावका सम्बन्धमा बैठकमा सबै सुरक्षा निकायले ब्रिफिङ गरेका थिए।
बैठकले आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली उनीहरूका परिवार र आफन्तजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कास्की कारागारबाट भागेका ७ सय ७३ कैदीबन्दीमध्ये ३५ जना महिला हुन्। बाँकी पुरुष हुन्। त्यसबाहेक दुई जना केटाकेटी थिए। कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्मा भन्छन्, ‘सबै कैदीबन्दीहरुलाई फर्किन विभागले पनि सूचना जारी गरेको छ। हामीले पनि स्थानीयरूपमा भनिरहेका छौं। अधिकांश दिनहुँजसो सम्पर्कमा हुनुहुन्छ। आशा गरौं सबैजना फर्किनुहोला।’