भग्न भवनअगाडि तीन मन्त्रीको शपथ, को गए को गएनन्?

हिमाल प्रेस ३० भदौ २०८२ १२:५६
134
SHARES
भग्न भवनअगाडि तीन मन्त्रीको शपथ, को गए को गएनन्? शीतल निवासमा सोमबार आयोजित मन्त्रीहरूको शपथ ग्रहण समारोहमा बस्नेहरूमा बायाँबाट क्रमश: प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका साथ सरकारका तीन मन्त्रीहरू उभिनेमा बायाँबाट कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- प्रदर्शनकारीले लगाएको आगोले ध्वस्त भएको शीतल निवासअगाडि पाल टाँगेर सोमबार नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्री रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

मन्त्रीहरूको शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी भए। प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिँदा भने दाहाल उपस्थित थिएनन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति थियो। यसैगरी मन्त्रीहरूको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी भए। भट्टराई सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिँदा पनि शीतल निवासमा उपस्थित थिए।

प्रधानमन्त्री कार्कीले शपथ लिँदा अनुपस्थित सभामुख देवराज घिमिरे मन्त्रीहरूको शपथमा पनि सहभागी भएनन्। यसैगरी उपसभामुख इन्दिरा रानामगर पनि शपथ ग्रहण समारोहमा सहभागी भइनन्। संविधानको धारा ९१ ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ।

यसैगरी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि समारोहमा सहभागी भएनन्।

आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा उपचारका क्रममा अस्पतालमा छन्। रेग्मीबाहेकका पूर्वप्रधानमन्त्रीहरू नेपाली सेनाको सुरक्षामा रहेकाले २४ गतेयता सार्वजनिक रूपमा देखा परेका छैनन्।

खनालले अर्थ मन्त्रालयको मात्रै जिम्मेवारी पाएका छन्। घिसिङले भने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसैगरी अर्यालले गृह र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

निर्दलीय सरकारमा सहभागी तीन मन्त्रीमध्ये खनाल पूर्वअर्थ सचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। यसैगरी कानुन व्यवसायी अर्याल काठमाडौँ महानगरपालिकाका मेयर कानुनी सल्लाहकार हुन्।

प्रकाशित: ३० भदौ २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast