
काठमाडौँ- गत शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। नेपालको फेरिएको राजनीतिक परिस्थितिमा बसेको त्यो बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए।
यसअघिका कार्यसम्पादन समिति बैठकहरूका सभापतित्व पार्टी सभापति शेरबहादुर देउवाले गर्ने गरेका थिए। शुक्रबार राति सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको त्यो बैठकको सभापतित्व उपसभापति खड्काले गर्नुपर्ने कारण खुलाइएको थिएन।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्न शनिबार जारी गरेको विज्ञप्तिमा उपसभापति खड्काको सभापतित्वमा बैठक बसेको मात्रै जानकारी गराइएको थियो।
दलीय पद्धतिमा अध्यक्षबाहेक अन्य कुनै पदाधिकारीको अध्यक्षतामा बैठक बस्नुपर्ने कारण खुलाउने परम्परा छ। उपसभापति खड्काले भने कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्न लगाउँदा कारण खुलाउन आवश्यक ठानेन्।
कांग्रेस सभापति देउवालाई जेनजी प्रदर्शनकारीले घरमै प्रवेश गरेर आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री रहेकी देउवा पत्नी आरजुमाथि पनि आक्रमण गरेका थिए। प्रदर्शनकारीको कुटपिटबाट दुवै जना घाइते छन्। उनीहरू २४ भदौदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत छन्।
उपसभापति खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन समिति बैठकले संसद् विघटन गर्ने निर्णय संविधानविपरीत भएको ठहर गरेको थियो। पार्टी सभापति देउवा र उनकी पत्नीमाथि भएको आक्रमणको विरोध नगरेको त्यो बैठकले उनीहरूको स्वास्थ्यलाभको कामना पनि गरेको थिएन।
यसअघि सचिव पौडेलबाट विज्ञप्ति निकाल्न लगाएका उपसभापति खड्काले आइतबार आफैँ अर्को विज्ञप्ति जारी गरेर वक्तव्य सच्चाएका छन्। यसपालि उनले देउवा दम्पतीमाथि भएको आक्रमणको भर्त्सना र स्वास्थ्यलाभको कामना गरेका छन्।
वक्तव्यको चौथो बुँदामा ‘लोकतन्त्रका लागि जीवनपर्यन्त अविचिलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा.आरजुराणा देउवामाथिको अमानवीय र बर्बतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सनायोग्य छ। उहाँहरू उपचारका क्रममा रहनुभएकाले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’ भनिएको छ।
दोस्रोपटक पनि संसद् विघटनलाई असंवैधानिक भनेका उपसभापति खड्काले पार्टीका अग्रज नेता, नेता, सहकर्मी तथा अन्य राजनीतिक दलका नेताहरूमाथि भएको भौतिक आक्रमणलाई निन्दनीय र भर्त्सनायोग्य भनेका छन्। उनले आन्दोलनका क्रममा घाइते भएका सबैको स्वास्थ्यलाभको कामना गरेका छन्।
त्यस्तै खड्काले जेनजीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका संरचनामा आगजानी भएर खर्बौँको क्षति भएको भन्दै क्षतिको वास्तविक आकलन प्रक्रिया सुरु गरेर दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।