सिंहदरबारमा कति भयो क्षति?

हिमाल प्रेस २५ भदौ २०८२ १८:००
सिंहदरबारमा कति भयो क्षति? काठमाडौँमा मंगलबार प्रदर्शनीकारीहरुले गरेको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको सिंहदरबार। तस्बिर : रासस

काठमाडौँ- भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्बाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ। नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएपछि मंगलबार प्रदर्शनले उग्ररूप लिएको थियो।

त्यस क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपूरणीय क्षति भएको छ। २०७२ को भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन्।

आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ। गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ। यस्तै सिंहदरबारस्थित नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्णरूपमा क्षति भएको छ।

सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारीसाधनमा आगजनी र तोडफोड भएको छ। आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड गरेको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन्। यसबाट राज्यलाई अर्बौँको क्षति भएको छ।

प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन्। आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्त्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ।

प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र बुधबार सुनसान प्रायः रह्यो। सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ। त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारीसाधन र करिब दुई लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जलेर पूर्ण रूपमा नष्ट भएको कार्यालयले जनाएको छ। आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठूलो क्षति पुगेको छ।

यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ। आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ। आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ। जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिएका छन्। -रासस

प्रकाशित: २५ भदौ २०८२ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast