
काठमाडौँ- जेनजी आन्दोलनको दोस्रो दिन राजधानीको बनस्थली चोक तनावग्रस्त बनेको छ। सोमबारको सरकारी दमनमा १९ जनाको ज्यान गएपछि सुरु भएको जनआक्रोश मंगलबार झनै उग्र बनेको देखिएको छ।
बिहानैदेखि बनस्थली क्षेत्रमा हजारौँ प्रदर्शनकारीको भिड देखिएको छ। अहिले चक्रपथको बनस्थली खण्ड पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ भने सुरक्षाकर्मीहरूको उपस्थिति देखिएको छैन।
प्रदर्शनकारीहरू ‘भ्रष्टाचारविरुद्ध जनआन्दोलन’, ‘जवाफदेही नेतृत्व चाहिन्छ’, जस्ता नारासहित आक्रोशित मुद्रामा सडकमा उत्रिएका छन्।
बनस्थली चोकमा जमेको भिड अहिले राष्ट्रपति रामचन्द्र पौडेलको बालाजु हाइटस्थित बोहोराटार निवासतर्फ अघि बढ्दै गरेको जनाइएको छ। भीडको स्वरूप र गन्तव्यप्रति सुरक्षानिकाय सतर्क देखिए पनि घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नदेखिनुले अवस्था थप जटिल बन्ने संकेत दिएको छ।
राजधानीका विभिन्न ठाउँमा यस्तै प्रदर्शन भइरहेका छन् भने बनस्थली चक्रपथ हालका लागि यातायात र आवागमन पूर्ण रूपमा ठप्प भएको छ।जेनजी आन्दोलन अहिले स्वतःस्फूर्त रूपमा फैलिँदै गइरहेको छ।