
काठमाडौँ- प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जाँचपास समितिले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ।
‘फिल्मका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लिल लाग्ने संवाद तथा शब्दहरू हटाइ सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने’ निर्णय गरेकोमा फिल्मले समितिको निर्णय पालना नगरेको बोर्डको पत्रमा उल्लेख छ।
पत्रमार्फत मन्त्रालयले बोर्डलाई फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट भएको निर्णयको पालना गरे नगरेको अनुगमन गरेर सेन्सर बमोजिम फिलम प्रदर्शनको व्यवस्था मिलाइ सोको प्रतिवेदन समेत पेश गर्न अनुरोध गरेको छ।
सरोज पौडेलले निर्देशन गरेको फिल्म भदौ १२ देखि प्रदर्शन भइरहेको छ। फिल्मको कथाले वैदेशिक रोजगारी र प्रेमकथालाई समेटेको छ। फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय छ।