उद्योगमन्त्री भण्डारीसँग अमेरिकी राजदूत थमसनको शिष्टाचार भेट

हिमाल प्रेस ११ भदौ २०८२ २०:४३
16
SHARES
उद्योगमन्त्री भण्डारीसँग अमेरिकी राजदूत थमसनको शिष्टाचार भेट

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अमेरिकाका राजदूत डिनआर थमसनले शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधा भए पनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको जानकारी गराए।

अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजारपहुँच संवेदनशील रहेको विषयलाई महत्त्व दिनुपर्ने मन्त्री भण्डारीले बताए।

उनेले आगामी सन् २०२६ मा हुने अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्नेगरी विस्तारका लागि आग्रह गरे।

अमेरिका टिफा काउन्सिलका यसअघिको बैठकका सहमति कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने विषय भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै विद्यमान अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास व्यक्त गरे।

राजदूत थमसनले नेपालमा अनुमान योग्य र सुधारिएको लगानी वातावरण कायम हुँदा अमेरिकी लगानीकर्ता लगानी वृद्धिमा इच्छुक रहेको उल्लेख गर्दै बौद्धिक सम्पत्तिका क्षेत्रमा सहकार्य र सहयोगको लागि अमेरिका तयार रहेको जानकारी गराए।

भेटवार्ताका क्रममा उठान भएका विषयलाई वासिङ्टनसम्म पुर्‍याउने राजदूत थमसनले प्रतिबद्धता व्यक्त गरे। दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी विषयमा मन्त्रालय र दूतावासबीच निरन्तर छलफल र सम्पर्क कायम रहने सम्बन्धमा मन्त्री भण्डारी र राजदूत थोम्पसनले साझा धारणा व्यक्त गरेका छन्।

प्रकाशित: ११ भदौ २०८२ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast