लामाचौर कप भलिबल सुरु, आयोजकको विजयी सुरुवात

हिमाल प्रेस ८ भदौ २०८२ १८:२९ | Sunday, August 24, 2025
लामाचौर कप भलिबल सुरु, आयोजकको विजयी सुरुवात

पोखरा- लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन्।

लिग चरणको खेलमा आयोजक नवआदर्श सामुदायिक विकास समाज, जी.एम. समाज, ढुंगेदेउराली क्लब र एपीएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन्। दुई खेल खेलेका माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए।

समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छ्रे गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो।

दोस्रो खेलमा जी.एम. समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो। तेस्रो खेलमा ढुंगेदेउरालीसँग कोर्ट उत्रिएको माछापुच्छ्रे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो।

आइतबारकै चौथो खेलमा एपीएफ क्लबले कृष्णदलको चुनौती सोझो सेटमै पन्छायो। एपीएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो। समूह ‘ए’ मा आयोजकसहित ढुंगेदेउराली छन्। समूह ‘बी’ मा जी.एम. समाज र एपीएफ छन्।

सोमबार पनि लिग चरणकै खेल हुने रेफ्री बिमल रानाले जानकारी दिए। पहिलो खेलमा आयोजकले ढुंगेदेउराली र दोस्रो खेलमा जी.एम. समाजले एपीएफको सामना गर्नेछ।

यसैबीच अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा तथा शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। उनीहरूबीच फाइनल भदौ १० गते हुनेछ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो। महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरे।

इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा ३ दिनसम्म चल्ने महोत्सवमा लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रम हुनेछन्। तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन्।

पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ। अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ। साथै दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताए।

प्रकाशित: ८ भदौ २०८२ १८:२९ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast