बेनीमा रोपाइँ नाच

हिमाल प्रेस ६ भदौ २०८२ १९:५२ | Friday, August 22, 2025
बेनीमा रोपाइँ नाच

म्याग्दी-

केटा : ‘असारे मास, दब्दवे हिलो छुनलाई घिन लाग्यो
            पातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो।’
केटी : ‘त्यो पारि वन, खरिको बोट, गुड लायो फिस्टाले
          फरिया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’

म्याग्दीको सदरमुकाम बेनीको सडकमा शुक्रबार दिनभर यस्तै गीत घन्कियो। गीतको भावमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नृत्य प्रस्तुत गरे।

नेपाल भाषा मंकाःखलः, मैजुःखलः र ल्यामःपुचःको आयोजनामा एकमहिने लामो बर्खे नाचअन्तर्गत ‘रोपाइँ नाच’ देखाइएको हो। नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा बस्ती बसेदेखि दुई सय वर्ष अघिदेखि सुरु भएको वर्खे नाचअन्तर्गत रोपाइँ नाचलाई निरन्तरता दिएको बताए।

‘गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाइँको झल्को यस नाचमा प्रस्तुत गरिन्छ,’ उनले भने, ‘पुरुषले महिलाको पोसाकमा सजिएर असारे गीतमा नाच्ने यो नाचको प्रमुख विशेषता हो।’

गीत गाउने र खेतालाको अभिनयसहित नाच्ने करिब ५० जना कलाकार आवश्यक पर्छ। युवा पुस्ताको पलायन र पुराना पुस्ता नासिने क्रमसँगै पछिल्लो समय कलाकार अभाव भए पनि परम्परा र मौलिक संस्कृतिको जगेर्नालाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो समय महिला र किशोर किशोरीलाई प्रशिक्षण दिएर रोपाइँ नाचमा सहभागी गराउन थालिएको छ। घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाइने यस वर्खे नाचले बेनीमा जात्राकै रौनक दिने गरेको छ।

लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने गरिन्छ। वर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचान हो। वर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ। सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ। तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ। रासस

प्रकाशित: ६ भदौ २०८२ १९:५२ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast