
काठमाडौँ- नेकपा एमालेले नेपाली भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेका हुन्।
बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले नेपालको स्वीकृति र जानकारीबिना सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच सहमति भएको बताए। उनले भने, ‘यसमा एमाले संसदीय दलको तर्फबाट विरोध र असहमति छ।’ भूगोल, अर्थतन्त्र, जनसंख्याका आधारमा देश ठूलोसानो हुन सक्ने तर स्वाधीनता, सार्वभौमिकताका हिसाबले देश ठूलोसानो हुन नसक्ने उनको भनाइ छ।
नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि हस्तक्षेप भए प्रतिकार र सशक्त विरोध गर्ने पनि उनले स्पष्ट पारे। बर्तौलाले उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट यस विषयको हल निकाल्न सरकारको ध्यानाकर्षण गराए।