गण्डकीमा आठ सय जनामा डेंगु संक्रमण

हिमाल प्रेस १ भदौ २०८२ ८:५५
4
SHARES
गण्डकीमा आठ सय जनामा डेंगु संक्रमण

गण्डकी- गण्डकी प्रदेशमा गत पुसयता डेंगु संक्रमित हुनेको संख्या आठ सय ११ पुगेको छ। पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु रोग देखिएको हो।

मनाङमा यस वर्ष अहिलेसम्म डेंगु देखिएको छैन। प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन्। पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ। पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी संक्रमणका बिरामी थपिएका थिए।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगुको ‘हटस्पट’ बनेको थियो। उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो।

डेंगु संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो। साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ।

डेंगु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन्।

स्थानीय तहले डेंगु रोग फैलन नदिन डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्। डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको छ।

प्रकाशित: १ भदौ २०८२ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast