एनसेल फाउण्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल विमोचन

हिमाल प्रेस २९ साउन २०८२ १३:३० | Thursday, August 14, 2025
एनसेल फाउण्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल विमोचन

काठमाडौँ- एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्ष समेटिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन गरिएको छ।

नारायणहिटी दरबार संग्रहालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नल सार्वजनिक गर्दै यसलाई संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको उल्लेखनीय योगदानको उदाहरण बताएका छन्। मन्त्री पाण्डेले संग्रहालयको दर्ता, मापदण्ड तथा व्यवस्थापनबारे सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए।

एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नेपाली कला, संस्कृति र सम्पदाको संरक्षण एनसेल फाउन्डेसनको प्राथमिकता रहेको उल्लेख गरिन्। युनेस्कोका नेपाल प्रतिनिधि याको दु तोइले संग्रहालय संस्कृतिको थप विकासमा जोड दिए।

आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीका अनुसार जर्नल ‘संग्रहालय’ एक वर्षे परियोजना ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ अन्तर्गत प्रकाशन गरिएको हो। परियोजनामा संग्रहालयबारे जनचेतना, संग्रहालयकर्मी तालिम, स्रोत सामग्री निर्माण र प्रसारजस्ता गतिविधि कार्यान्वयन गरिएको छ।

यसअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता अनुसारको अभ्यासबारे तालिम दिइएको दवाडीले जानकारी दिए। साथै, नेपालको पहिलो संग्रहालय स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरिएको छ।

सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा सम्पन्न परियोजनाले दिगो विकासका लक्ष्य, राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको अधिकार प्रवर्द्धनमा टेवा पुर्याएको सरोकारवालाको भनाइ छ। सहभागीहरूले यस्ता परियोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २९ साउन २०८२ १३:३० | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast