प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाए यस्ता विषय

हिमाल प्रेस २८ साउन २०८२ १७:१०
44
SHARES
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाए यस्ता विषय

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी सरकारले तयार पारेको विधेयकको मस्यौदा संविधानको मर्म र भावनाविपरीत भएको दाबी गर्दै संशोधन गर्न आग्रह गरे।

उनीहरूले व्यक्तिको गोपनीयता हनन हुने खालका प्रावधान फोन कल, म्यासेज, सहज संवाद र भिडियो रेकर्ड गर्ने संविधानविपरीत भएको भन्दै यस्तो विधेयक नल्याउन चेतावनी दिए।

सांसद दिलेन्द्रप्रसाद बडूले कैलालीको धनगढी कारागारमा दुई पक्षका कैदीबीच भएको हिंसात्मक झडपको घटना दोहोरिन नदिन सरकारको तयारीबारे प्रश्न उठाए। १५० जनाको क्षमता भएको कारागारमा ७०० कैदी कसरी पुगे भन्ने विषयमा उनले स्पष्टीकरण मागे।

सांसद पुष्पबहादुर शाहले कैलाली कारागारको जस्तै घटना रोक्न उपाय खोज्न र भारतको उत्तराखण्डको उत्तरकाशीमा बाढीपहिरामा परी ज्यान गुमाएका नेपालीका परिवारलाई राहत दिन सरकारसँग आग्रह गरे।

सांसद ठाकुरप्रसाद गैरेले ‘हमास’द्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि भइरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन माग गरे।

सांसद देवप्रसाद तिमलसेनाले किसानका लागि मलखादको आपूर्ति, सुक्खा क्षेत्रका लागि राहत र खानेपानीका लागि बजेटको व्यवस्था गर्न आग्रह गरे।

सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी दाङमा आधुनिक सहर निर्माणको गुरुयोजना सुस्त भएको भन्दै संघीय सरकारलाई आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरिन्।

सांसद प्रकाश ज्वालाले बँदेल र बाँदरका कारण किसान पीडित भएको भन्दै उनीहरूको मनोबल बढाउने राहतको व्यवस्था गर्न माग गरे।

सांसद प्रभु हजाराले पर्साको गण्डक नहरस्थित पुल भत्किएर स्थानीय मर्कामा परेको भन्दै तत्काल ‘बेलिब्रिज’ निर्माण गर्न आग्रह गरे।

सांसद दुर्गा राईले सरकारले विचौलियाको स्वार्थअनुकूल नीतिगत निर्णय र ऐन बनाउन खोजेको आरोप लगाइन्।

सांसद निर्मला कोइरालाले नेताहरूलाई अनावश्यक विवाद छोडी हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न सुझाव दिइन्।

शून्य समयमा पूर्णबहादुर घर्ती मगर, प्रेम सुवाल, दीपा शर्मा र धनबहादुर बुढाले पनि आफ्ना निर्वाचन क्षेत्रका मागसहित सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २८ साउन २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast