
काठमाडौँ- नेपाल ओलम्पिक कमिटीमा आबद्ध संघहरूले तदर्थ समिति चयन गरेसँगै नेपालमा दुई ओलम्पिक कमिटी (एनओसी) बनेको छ। मंगलबार बेलुका एनओसीमा आबद्ध २३ संघहरूको अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको बैठकले वर्तमान मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय नयाँ कमिटी गठन गरिएको उल्लेख छ।
जसको प्रवक्ता रहेका समीम मियाँ अन्सारीले नेपाल ओलम्पिक कमिटीकै लेटरहेट प्रयोग गरेका छन्। ओलम्पिक कमिटीकै लेटरहेडमा आएको उक्त विज्ञप्तिमा समितिले तत्कालैदेखि कार्य सुरु गरेको समेत जनाइएको छ।
पछिल्लो समय युवा तथा खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीबीच रहेको टकराबका कारण सातदाबोटोस्थित एनओसी कार्यालयमा लामो समयदेखि ताला लागेको छ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको आदेशलाई नजरअन्दाज गर्दै चुनावी साधारणबाट आफू निर्वाचित भएको मन्त्रालयको आरोप छ। यता, एनओसीले भने चुनावी साधारणसभाअघि अदालतबाट कुनै पत्र नआएको जिकिर गर्दै आइरहेको छ।