पोखरामा पनि मनाइयो कानुन व्यवसायी परिषद्को ३२ औं स्थापना दिवस

हिमाल प्रेस २७ साउन २०८२ १८:२९
12
SHARES
पोखरामा पनि मनाइयो कानुन व्यवसायी परिषद्को ३२ औं स्थापना दिवस

पोखरा- नेपाल कानुन व्यवसायी परिषद्को ३२ औं स्थापना दिवस मंगलबार पोखरामा पनि मनाइएको छ। परिषद्को गण्डकी प्रदेश सम्पर्क कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रमका वक्ताले कानुन व्यवसायीहरुले आचारसंहिता पालना गर्दै न्यायका निम्ति अदालत र बेञ्चबीच सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रमुख अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले कार्यक्रमको उद्घाटन गरे। उनले आफूहरु न्यायको हिमायती भएको बताए। उनले कानुनको सर्वोच्चता कायम गर्दै आ–आफ्नो ठाउँबाट नेपाली जनतालाई न्याय दिलाउनुपर्नेमा जोड दिँदै अन्यायका कारण कसैको समूल नष्ट नहोस् भनी सचेत पनि गराए।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले हामी सबैजना स्वाभिमानी, नैतिकवान्, अनुशासित र चरित्रवान् हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रुद्र पन्थी, परिषद्का पूर्व पार्षद् सदस्य मोहननाथ कोइराला, बार एसोसिएसन उपाध्यक्ष भूपेन्द्र खनाल, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष शालिग्राम भट्टराई, कास्की जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष भगवती पहारी, उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता फणीन्द्र कोइराला, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, अधिवक्ताहरु सुकदेव गौतम, तिलकप्रसाद कोइराला, रुद्र कुँवर, कमल पौडेल, युवा कानुन व्यवसायीतर्फबाट बिमलप्रसाद लामिछाने र पल्लवी न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

नेपाल कानुन व्यवसायी परिषद्का गण्डकी प्रदेश पार्षद् सदस्य दयाराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का निवर्तमान पार्षद् सदस्य वरिष्ठ अधिवक्ता मुकुन्दराज अर्यालले परिषद्को ऐतिहासिक पक्षसहित यसका काम कर्तव्यबारे जानकारी गराए। उनका अनुसार हाल नेपालभर २२ हजार ४४९ जना कानुन व्यवसायी छन्। तीमध्ये यस वर्ष १२ हजार ६१६ जनाले अद्यावधिक गरेका छन्। वरिष्ठ अधिवक्ता ७४० जना छन्।

परिषद्को गण्डकी प्रदेश सम्पर्क कार्यालय खुलेपछि परिषद्को स्थापना दिवसमा यसरी बृहत् कार्यक्रम गरिएको हो। कार्यक्रममा उच्च अदालत पोखरा, कास्की जिल्ला अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उल्लेख्य उपस्थिति थियो।

परिषद्का गण्डकी प्रदेश पार्षद् सदस्य दयाराम गौतमले कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै परिषद्ले नियमनसँगै कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्ने कुरामा सधैँ दत्तचित्त रहेको बताए। कार्यक्रम संचालन उच्च बार एसोसिएसन पोखराका सचिव प्रकाश शर्माले गरे।

प्रकाशित: २७ साउन २०८२ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast