
काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय गएर उनले राजीनामा बुझाएका हुन्।
लामा गत १४ गते संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएका थिए। संसदीय दलको नेतामा पराजित भएसँगै उनीमाथि राजीनामा दिन दबाब बढेको थियो।
लामा गत वर्ष साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। एक वर्ष बागमती प्रदेश सरकारको नेतृत्व गरेका उनले आफ्नै पार्टीको आन्तरिक द्वन्द्वका कारण मुख्यमन्त्रीबाट राजीनामा दिनुपरेको छ।
पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका थिए। संसदीय दलको नेतामा पराजित हुनुअघि नियुक्त गरेका तीन जना मन्त्रीहरूलाई आगामी सरकारमा निरन्तरता दिने सर्तमा लामा राजीनामा दिन सहमत भएको बताइएको छ।
लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको छ।