
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयक साउन ३० गतेभित्र प्रतिनिधिसभामा पेस गरिने बताएका छन्। विधेयक लामो समयदेखि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। केही विषयमा शिक्षक संघसंगठन र दलहरूबीच मतभेद रहेकाले विधेयक अघि बढ्न सकेको छैन।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यसमेत रहेका प्रमुख सचेतक घिमिरेले अधिकांश विषयमा सहमति भइसकेको र केही संवेदनशील बुँदामा अन्तिम चरणको छलफल भइरहेको जानकारी दिएका हुन्। ‘विवादित विषयमा सहमति नजिक छौँ। विधेयक साउन ३० गतेभित्र संसद्मा पेस हुन्छ,’ उनले बुधबार हिमालप्रेससँगको कुराकानीमा भने।
अस्थायी प्रकृतिका शिक्षक, शिक्षकलाई विभागीय कारबाही गर्ने प्रक्रिया, शिक्षकको बढुवा र बालविकास सहजकर्ताको व्यवस्थाबारे ठाेस सहमति भएको छैन। यिनै विषयमा सहमति जुटाउन राजनीतिक तहमा पनि छलफल चलिरहेको घिमिरेले बताए।
शिक्षक संगठनहरू, राजनीतिक दलहरू र सरोकारवालाबीचको मतभेदका कारण विधेयक अघि बढ्न सकेको छैन। विधेयकमा सहमति जुटाउन पछिल्ला दिनमा भइरहेको संवाद र सहमतिलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले साउन २१ गतेभित्र विधेयक संसद् पुर्याउन अल्टिमेटम दिएको छ।
याे पनि
कांग्रेस एमालेका प्रमुख सचेतकहरूलाई शिक्षक महासंघले के भन्यो?
संसद्को चालु अधिवेशनबाटै शिक्षा ऐन जारी हुने, यी विषयमा जुट्यो सहमति