५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा छन् : स्वास्थ्यमन्त्री पौडेल

हिमाल प्रेस ५ साउन २०८२ १६:४९ | Monday, July 21, 2025
५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा छन् : स्वास्थ्यमन्त्री पौडेल प्रदीप पौडेल

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताएका छन्।

सोमबार मन्त्रालयमा आफ्नो कार्यकालको एक वर्षमा भएका उपलब्धि तथा कार्यहरुको विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएको भन्दै ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।

चालू आर्थिक वर्षमा निर्माणाधीन १३७ थप भई कुल २५० अस्पतालनिर्माण सम्पन्न हुने उनले बताए। उनले आधारभूत अस्पताल निर्माणका लागि ११ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिँदै स्वास्थ्य संस्था नभएका २५७ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको उल्लेख गरे।

उनले आफ्नो कार्यकालमा तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने गरी आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ जारी गरिएको र विगतमा निर्माण सम्पन्न भई सञ्चालनमा नआएका स्वास्थ्य संरचनाहरू; वीपी प्रतिष्ठानको ४०० शय्याको आमा–नवजात शिशु भवन, भक्तपुर छाती रोग अस्पताल सञ्चालन हुने अवस्थामा पु¥याइएको उल्लेख गरे।

उनले मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयासस्वरुप हाल २१ सय जनशक्तिसहितको संगठन संरचना सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्समक्ष पेस गरिएको बताए। स्वास्थ्य बिमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको र प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको उनले जानकारी दिए।

मन्त्री पौडेलले बिमामार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोगका लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताए। संघीय अस्पतालमा विशिष्टकृत सेवा विस्तारका लागि सिटी स्क्यान, पेटस्क्यान, क्याथ ल्याब जस्ता अत्याधुनिक उपकरणका लागि बजेट सुनिश्चित गरिएको र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय अस्पतालहरुमा ९०० भन्दा बढी बिग्रिएका उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

प्रकाशित: ५ साउन २०८२ १६:४९ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast