भ्रष्टाचारविरुद्ध कोइरालाको मोर्चा, प्रचण्ड र भण्डारीसँग हातेमालो

हिमाल प्रेस २ साउन २०८२ १७:२७
154
SHARES
भ्रष्टाचारविरुद्ध कोइरालाको मोर्चा, प्रचण्ड र भण्डारीसँग हातेमालो

काठमाडौँ- प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेर सरकार बनाउन जोड दिने नेताहरूमा एक थिए, कांग्रेस नेता डा.शेखर कोइराला। राजनीतिक स्थायित्व, सुशासन, मुलुकको विकास, आर्थिक प्रगतिका लागि पनि बलियो सरकार बन्नुपर्ने निष्कर्ष निकालेका कोइरालाले कांग्रेस-एमाले गठबन्धनको सरकार बनाउन पहल पनि गरेका थिए।

दुई दलको सरकार बने पनि नेतृत्व भने कांग्रेसले गर्नुपर्ने प्रस्ताव उनको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरबदल गरेर राजनीतिक संकट चुलिएपछि नेता कोइरालाले स्थिर सरकारका लागि दुई ठूला दल मिलेर सरकार बनाउन पहल गरेका थिए। कांग्रेस र एमाले मिलेर सरकार त बन्यो। कोइरालाले भनेअनुसार नेतृत्व कांग्रेसले पाएन।

सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सातबुँदे सहमति गरे। आलोपालो गरी सरकारको नेतृत्व सम्हाल्ने गरी भएको सहमतिअनुसार देउवाले अबको पाँच महिनापछि प्रधानमन्त्री बन्नेछन्। सातबुँदे सहमतिमा संविधान संशोधन, आर्थिक समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका विषय समावेश छन्।

दुई दलबीच भएका सहमतिअनुसार सरकार अघि बढ्न नसकेपछि आमनागरिकमा असन्तुष्टि चुलिएको कोइरालाले सार्वजनिक कार्यक्रममै व्यक्त गर्दै आएका छन्। गठबन्धन सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका अन्य नेताहरू पनि सन्तुष्ट हुन सकेका छैनन्।

नेता कोइरालाले सातबुँदे सहमतिअनुसार सरकार अगाडि बढ्न नसकेको अभिव्यक्ति हालै सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकमै दिइसकेका छन्। भ्रष्टाचार बढेको, बेथिति निम्तिएको, नागरिकले सुशासनको अनुभूति गर्न नपाएको गुनासाहरू कोइरालाले केन्द्रीय समिति बैठकमा पोखेका थिए। बलियो सरकार भए पनि नागरिकले सुशासनको अनुभूति गर्न नपाएकोमा कोइरालामा चिन्ता देखिएको छ।

सरकारको कामकारबाहीबाट असन्तुष्ट बनिरहेका कोइराला पछिल्लो समय मन्त्रीहरूको घुस ‘डिल’ सम्बन्धी अडियो बाहिरिएपछि थप चिढिएका छन्। ‘यस्तै रहेछ यहाँको चलन! मन्त्रीक्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्! आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौँ,’ कोइरालाले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्।

सरकारको कामकारबाहीलाई लिएर चिढिएका नेता कोइराला सुशासन कायम गर्ने अभियानमा सक्रिय भएका छन्। दलभित्रै आवाज उठाइरहेका उनले अन्य दलका नेताहरूसँग भेटेर आफ्नो अभियानमा समर्थन जुटाउन खोजेको उनी निकट नेताहरू बताउँछन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बिहीबार भेटेका कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेका छन्। भंगालस्थित भण्डारी निवास पुगेर उनले झन्डै पौने दुई घन्टा छलफल गरेका छन्। दुईजनाबीचको छलफल समसामयिक राजनीतिका साथै सुशासनतर्फ केन्द्रित रहेको कोइरालाको सचिवालयले जनाएको छ। भण्डारीको सचिवालयका एक सदस्यले पनि नेता कोइरालाले आफूले थालेको सुशासनको अभियानमा पूर्वराष्ट्रपति भण्डारीको समर्थन खोजेको बताएका छन्।

‘भेटमा समसामयिक राजनीतिका साथै सरकारको कामकारबाहीका विषयमा छलफल भएको छ,’ कोइरालाको सचिवालयले भन्यो, ‘डाक्टर साहेबले सुशासनको अभियानमा उहाँको (भण्डारी) को समर्थन खोज्नुभएको हो।’

जनतामा निराशा छाएको भन्दै कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई पनि यो विषयमा बोलिदिन आग्रह गरेका थिए। ‘सुशासनका विषयमा म निरन्तर बोलिरहेको छु, जनतामा एकदमै निराशा छायो,’ कोइरालालाई  उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, ‘निराशा चिर्न सक्ने अवस्था रहेन। तपाईँले पनि बोलिदिनुपर्‍यो।’

कोइरालाको आग्रहमा भण्डारीले मुलुकमा सुशासन कायम गर्ने सवालमा हरेक समय आफ्नो समर्थन रहने बताइन्। ‘सुशासनको अवस्था देखिएको छैन, तपाईँले सुरू गरेको यो अभियानमा मेरो सधैँ समर्थन रहन्छ,’ उनले भनिन्। पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आएकोले कोइरालासँग समर्थन खोजेकी थिइन्।

‘म अब सक्रिय राजनीतिमा आइसकेको छु, तपाईँको नैतिक समर्थन चाहियो,’ भण्डारीले भनिन्, ‘हामी जो जता भए पनि, फरक पार्टीमा भए पनि देशका लागि एकै ठाउँमा उभिएर काम गरौँ।’ नेता कोइरालाले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा नआउँदा वेस हुने भए पनि व्यक्तिगत निर्णय भएकाले सहयोग नै रहने बताएका थिए।

‘देशकै प्रथम नागरिक भइसकेको व्यक्ति राजनीतिमा आउनु हुँदैन भनेर म भनि पनि रहेको छु। तर तपाईँले निर्णय नै गरिसक्नुभयो भने हामीले केही भन्ने कुरा रहेन,’ कोइरालाले भनेका थिए।

यसअघि बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा पनि नेता कोइरालाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि पोखेका थिए। सरकारले जनभावनाअनुसार काम गर्न नसकेको निष्कर्ष दुवै नेताको थियो। एक वर्षको अवधिमा सरकारले विकृति फैलाउने काममात्रै गरेको भन्दै प्रचण्ड र कोइरालाले चिन्ता व्यक्त गरेका थिए। सरकारका तर्फबाट भइरहेका गलत गतिविधिविरूद्ध एकै ठाउँमा उभिएर आवाज उठाने निष्कर्षमा दुवै नेता पुगेका थिए।

‘सरकारले राम्रो काम गर्न सकेन, आशाभन्दा निराशा बढाउने काम गरेको छ,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘भ्रष्टाचार र बेथिति बढाउने काम भएको छ, सरकारको धेरै निर्णयमा समस्या देखिएको उहाँहरूको ठम्याई रह्यो। यस विषयमा आआफ्नो ठाउँमा रहेर आवाज उठाउँदै जाने सहमति बनेको छ।’

पूर्वराष्ट्रपति भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगातार भेटेपछि कोइरालाले सरकारका साथै पार्टी सभापति देउवालाई घेराबन्दीमा पार्न खोजेको आकलन भइरहेको छ। कोइरालाको सचिवालय भने सुशासनको सवालबाहेक अन्य विषयमा कुरा अगाडि नबढेको दाबी गरेको छ। ‘मुलुकमा बढेको बेथिति, सुशासन कायम गर्ने सवालबाहेक अन्य विषयमा केही कुरा भएको छैन। सरकार अथवा पार्टी सभापतिलाई घेराबन्दीमा पार्ने खाले केही होइन,’ कोइरालानिकट स्रोतले भन्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast