मौद्रिक नीति : वैदेशिक व्यापारले गति लिन थाल्यो

हिमाल प्रेस २७ असार २०८२ १३:५७ | Friday, July 11, 2025
मौद्रिक नीति : वैदेशिक व्यापारले गति लिन थाल्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पछिल्लो समयमा वैदेशिक व्यापारले गति लिन थालेको बताएका छन्। मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. पौडेलले उक्त कुरा बताएका हुन्।

उनले आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको जानकारी दिए। राष्ट्र बैंकका अनुसार कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ। निर्यातको वृद्धिदर उच्च भए पनि आधार सानो भएको र आयात लयमा फर्कन थालेकाले आगामी वर्ष व्यापार घाटा केही फराकिलो हुने अनुमान छ।

मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने उल्लेख छ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ। यसअघि बैंक दर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड रुपैयाँ कायम गरिएको छ। पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ। आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ।

प्रकाशित: २७ असार २०८२ १३:५७ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast