
काठमाडौँ- नेकपा माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे पनि चर्चा भने उनी केन्द्रमा रह्यो। अहिले अमेरिका भ्रमणमा रहेका श्रेष्ठको अनुपस्थितिमा बसेको बैठकमा गत साता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको उनको भेटवार्ताले विशेष स्थान पाएको थियो।
भेटवार्तापछि वाम एकताको सम्भावनाबारे सञ्चारमाध्यममा आएका समाचारबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा लामो ब्रिफिङ गरेका माओवादी नेताहरूले बताएका छन्। यद्यपि पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नी सापकोटाले बैठकमा विषयवस्तुबारे सामान्य छलफल मात्र भएको बताए। ‘अध्यक्षले ओली र भण्डारीबीच सोचमा खासै फरक छैन भन्ने कुरा गर्नुभएको हो,’ उनले भने,‘अन्य कुनै विस्तृत छलफल भएन।’
सापकोटाका अनुसार वाम एकताको सन्दर्भमा माओवादी केन्द्रको कुनै योजना नरहेको विषयमा अध्यक्षले प्रष्ट पारेका थिए। उनले सञ्चारमाध्यमहरूमा भ्रम हुने गरी समाचार आएपछि स्पष्टिकरण स्वरूप सोमबार विज्ञप्ति जारी गरिएको बताए। सो विज्ञप्तिमा भनिएको थियो, ‘एमालेसँग एकता गर्ने कुनै नीति र सोच पार्टीको छैन। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर एकताको प्रस्ताव राखेको भनी आएको समाचारको पार्टीसँग कुनै जानकारी छैन।’
तर पार्टीकै एक केन्द्रीय सदस्यले भने अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेर असन्तोष प्रकट गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। ‘प्रचण्डले गठबन्धन फेर्दा वा विभिन्न नेतासँग छलफल गर्दा सल्लाह हुन्छ?’ उनले भने,‘प्रचण्ड जे गरे पनि हुने,अरूले चाहिँ भेट्नै नपाउने? यो सोच सर्वसत्तावादको प्रतिबिम्ब हो।’
उनले वाम नेताहरूसँगको भेटमा वाम एकता र नेपाली कांग्रेससँगको भेटमा लोकतन्त्रको पक्षमा एकता भन्ने सामान्य राजनीतिक प्रक्रिया भएको तर्क गरे।