
स्याङ्जा- स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे-हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ।
गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका-१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुंगासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिए।
पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। वर्षा भइरहेको र सडकमाथिबाट ढुंगासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ। सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।
सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ-ढिकीडाँडा-तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिए। भुम्रे-हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे-हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन्।