पानी नपरी भोटेकोशीमा बाढी, हिमताल फुटेको शंका

किरण पौडेल २४ असार २०८२ १३:४५
182
SHARES
पानी नपरी भोटेकोशीमा बाढी, हिमताल फुटेको शंका बाढीले क्षति पुर्‍याएको रसुवागढी हाइड्रोपावरको क्याम्प।

काठमाडौँ– रसुवाको भोटेकोशीमा एकाएक आएको बाढीले जनधनको क्षति भएको छ। नेपाल प्रहरीले दिएको विवरणअनुसार गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट आएको बाढीले मानवीय र भौतिक क्षति भएको हो।

बाढीमा १८ जना बेपत्ता छन् भने दजर्नभन्दा बढी सवारी बगेका छन्। रसुवागढी नाकाको पक्की पुल बगेको नाकामा खटिएका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए। यसैगरी बाढीमा त्रिशूली नदीमा रहेका कैयौँ हाइड्रोपावरमा क्षति पुगेको रसुवा प्रशासनले जनाएको छ। बाढीका कारण पानीको सतह बढ्दै गएपछि रसुवा, नुवाकोट, धादिङ र गोरखाका तटवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाली भूमिमा पानी परेर भोटेकोशीमा बाढी आएको होइन। रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीमा बिहान ३ बजेर ४० मिनेटमा पानीको सतह ५.३७ मिटर मापन गरिएको महाशाखाको विवरण उल्लेख छ। यसलाई सामान्य मानिन्छ। बिहान ६ बज्दा बाढी निकै बढेको थियो।

यसैगरी बेत्रावती नदीमा बिहान ५ बजे पानीको सतह १.६ छ मिटर मात्र थियो। ५ बजेर ५० मिनेट जाँदा पानीको सतह ह्वात्तै बढेर ४.१८ मिटर पुगेको देखिएको छ।

विश्व मौसम संगठनको फ्लास फ्लड गाइडेन्स सिस्टमको ग्लोबल हाइड्रो इस्टिमेटर स्याटलाइट इस्टिमेटका अनुसार रसुवाको भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा पानी परेको छैन।

मौसम विभागका अनुसार पनि सोमबार ९ बजेदेखि मंगलबार ९ बजेसम्मको समयमा नेपाल-चीन सीमाबाट नजिकमा रहेका रसुवास्थित कुयान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसम केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको देखिन्छ। मौसमविद् हरिप्रसाद दाहालले नेपाली भूमिमा पानी नपरी एकाएक बाढी आएको बताए। ‘नेपालतर्फ पानी परेको छैन। कसरी ठूलो बाढी आयो हामी जानकारी लिँदै छौँ’, दाहालले भने।

हिमपात फुटेको आशंका

वर्षा नभई बाढी आएपछि कारण पहिल्याउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्। मौसमविद्हरूका अनुसार नेपालतिर अहिलेसम्म बाढीको कारण पत्ता लाग्न सकेको छैन। ‘हाम्रो भूमिका हिमताल फुटेको जानकारी छैन। चीनतिर केही भयो भन्ने हो’, दाहाल भन्छन्। मौसम विभागका अधिकारीहरू पनि चीनतर्फको हिमपात फुटेर बाढी आएको हुन सक्ने अनुमान गर्छन्।

जलवायुविद् धर्मराज उप्रेती पनि सीमावर्ती तिब्बत क्षेत्रमा वर्षा नभएकाले हिमपात फुटेको अनुमान गरिएको बताउँछन्। ‘चीनतिरको हिमताल विस्फोट भएको हुन सक्छ। किनभने त्यो क्षेत्रमा वर्षा भएको त परको कुरा बाक्लो वर्षा भएको पनि भेटिएको छैन’, उनले भने।

बाढी प्रभावित क्षेत्रकमा स्थानीयले बाढी आउँदा भूकम्प आएजस्तो अनुभव भएको बताएका छन्। त्यसले पनि हिमताल फुटेको हुन सक्ने अनुमान गर्न सकिने उप्रेती बताउँछन्।

नेपालभित्रै थोरै क्षेत्रमा ठूलो पानी आएर बाढी आएको हुन सक्ने अनुमान पनि उनले गरेका छन्। स्याफ्रुबेसीको बाढी मापन उपकरण मापन केन्द्र बाढीले बगाएको छ। यसैले अबको बाढी मापन गर्न असम्भव छ।

यसैगरी विज्ञहरूले चिनियाँ भूमिमा बाँध फुटेको शंका गरेका छन्।  चीनले यस्ता खालका खोलामा ठूलाठूला बाँध बनाएको छ।

सचेत गराउँदै प्राधिकरण, सजग रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखा र विपद् प्राधिकरणले बिहानैबाट सचेत रहन अनुरोध गरेका छन्। महाशाखाले जारी गरेको मौसम बुलेटिनमा रसुवा क्षेत्रलाई ‘अति उच्च जोखिम’ मा राखिएको छ। रसुवा जिल्ला भएर बग्ने ससाना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउने महाशाखाले जनाएको छ। रसुवाका सीमावर्ती जिल्ला नुवाकोट, धादिङ र आसपासका जिल्ला समेत जोखिममा छन्।

विभागका अनुसार भोटेकोशीस्थित रसुवा-स्याफ्रुबेसी जलमापन केन्द्रमा बिहान ३ः३० बजे बाढी बढेको छ। उक्त बाढी बिहान ५ बजे बेत्रावती पुगेको विभागले जनाएको छ।

बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको देखिन्छ। प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनीघाट) आसपास सम्म पर्ने देखिएकोले सतर्कता जरुरी देखिएको छ।

बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको छ। सम्भावित कारणको अध्ययन सुरु गरेको छ। नेपाल प्रहरीका अनुसार बेपत्ता हुने १८ जनामा १२ नेपाली र ६ चिनियाँ छन्। १२ नेपालीमध्ये तीन जना प्रहरी कर्मचारी रहेको नेपाल प्रहरीले जनाएको छ। घटनामा दुईजना सुरक्षाकर्मी र सातजना सर्वसाधारण गरी नौजनाको उद्धार गरिएको छ।

यसैगरी नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। नाका आसपास रहेका ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ भने भन्सार कार्यालय रसुवा परिसरमा क्षति पुगेको छ। साथै रसुवागढी हाइड्रोपावरको ड्याम र कर्मचारी बस्ने क्याम्पमा पनि क्षति पुगेको छ।

प्रकाशित: २४ असार २०८२ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast