स्पा सेन्टरबाट आठ बालिकाको उद्धार

हिमाल प्रेस १८ असार २०८२ ६:३१
8
SHARES
स्पा सेन्टरबाट आठ बालिकाको उद्धार पोखरा लेकसाइड

पोखरा- पोखराको लेकसाइडमा सञ्चालित विभिन्न स्पाहरूबाट ८ जना बालिकाको उद्धार गरिएको छ। अनुगमनका क्रममा उनीहरूलाई जोखिमपूर्ण व्यवसायमा लगाएको पाइएपछि उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ। साथै सम्बन्धित स्पाहरूलाई आवश्यक कारबाही थालिएको छ।

पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा सञ्चालित विभिन्न स्पा सेन्टरहरूमा १८ वर्षमुनिका बालिकालाई काममा लगाइएको सूचनापछि सोमबार जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट संयुक्त टोली अनुगमनमा खटिएको थियो।

अनुगमनका तीन स्पा सेन्टरले बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरीत बालिकाहरूलाई जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरूलाई आवश्यक कारबाहीका लागि उद्धार गरिएका आठजना बालिकासहित श्रम तथा रोजगार कार्यालय कास्की पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार लेकसाइडको इभेन्डर ब्यूटी एन्ड स्पाबाट चारजना, पर्सल्यान स्पा र ताराहिल लज स्पा एन्ड ब्युटी केयरबाट दुई–दुई जना बालिकाहरूको उद्धार गरिएको हो।

कास्की प्रहरीले गत वर्ष पनि लेकसाइडका स्पामा अनुगमनका क्रममा बालिकाहरूको उद्धार गरेको थियो।

प्रकाशित: १८ असार २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast