
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० संसदीय समितिबाट पारित हुने अन्तिम चरणमा पुगेका बेला सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन बनेपछि शिक्षक नेताहरू वार्ताबाट बाहिरिएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले हिमालप्रेससँग कुरा गर्दै भने, ‘सहमति भएन। सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिविपरीत शिक्षा ऐन ल्याउन लाग्यो। विधेयकमा हाम्रा कतिपय माग समेटिएन। त्यसैले हामी वार्ताबाट हिँड्यौं। तर, पुनः छलफल गर्छौं,’ उनले थपे,‘शिक्षक कर्मचारीका मागप्रति सरकार संवेदनशील देखिएन।’
शिक्षामन्त्री रघुजी पन्तको कार्यकक्षमै नेपाल शिक्षक महासंघ र सरकारी टोलीबीच वार्ता भएको थियो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि अन्तिम छलफल गर्न बैठक बस्न सकेको छैन। समितिको बैठक बिहान ८ बजेका लागि बोलाइएको भए पनि बैठक दिउँसो २ बजेका लागि सारिएको छ।
बैठकअघि वार्तामार्फत सहमति जुटाउने प्रयास गरिएको थियो। सहमति नभएपछि समिति बैठक नै अन्याेल बनेको छ।
गत वैशाख १७ गते सरकार र महासंघबीच असार १५ भित्र विधेयक संसद्मा लैजाने सहमति भएको थियो।