सांकेतिक तस्बिर।
ताप्लेजुङ- जिल्लाको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी साउन २४ देखि सुरु हुने भएको छ। लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्दै आएको उक्त गोल्डकप प्रतियोगिता साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल खेलका साथ सम्पन्न हुने छ।
समितिका सचिव टिकेन्द्र नेपालीले दिएको जानकारी अनुसार प्रतियोगिताको तयारीअन्तर्गत खलमैदानमा प्याराफिट निर्माणका लागि पहल सुरु गरिएको छ। उक्त प्याराफिट निर्माणका लागि करिब तीन हजार बाँस आवश्यक पर्ने र बाँस बिक्री गर्न इच्छुक किसानलाई न्यूनतम मूल्यमा प्रस्ताव दिन आह्वानसमेत गरिसकेको छ।
यससम्बन्धी सूचना मंगलबार सार्वजनिक गरिएको छ। यसैबीच, प्रतियोगिताको तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य पूरा भइसकेको छ। प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिबारे छलफल जारी रहेको र छिट्टै निर्णय लिइने अध्यक्ष सागर मादेनले जानकारी दिए।
प्रथम संस्करणमा तीन लाख, दोस्रोमा पाँच लाख नगद पुरस्कार प्रदान गरिएकोमा,यसपटक त्यो पुरस्कार राशि अझ बढ्ने संकेत देखिएको छ। कोषाध्यक्ष दावा शेर्पाका अनुसार, प्रतियोगिताबाट हुने आम्दानीको आधारमा पुरस्कार राशि वृद्धि गरिने तयारी भइरहेको छ। प्रतियोगितामा सहभागी हुने आमन्त्रित क्लबहरूको टुङ्क्रो पनि चाँडै लगाइने जनाइएको छ।
खेलकुद र संस्कृतिको सङ्गमका रूपमा स्थापित ताप्लेजुङ गोल्डकप पहाडी क्षेत्रको बहुप्रतिक्षित प्रतियोगिता हो।




