पोखरा बचत तथा ऋण सहकारी संकटमा परेपछि एक साताभित्र कार्ययोजना पेस गर्न निर्देशन

हिमाल प्रेस १० असार २०८२ १३:३१
10
SHARES
पोखरा बचत तथा ऋण सहकारी संकटमा परेपछि एक साताभित्र कार्ययोजना पेस गर्न निर्देशन

पोखरा- पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा परेको छ। सहकारीको ठूलो रकम हिनामिना भएको तथ्य सार्वजनिक भएको हो। ३ हजारजना बचतकर्ताको रकम संकटमा परेपछि पछिल्लो समय सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले छानबिन गरेको छ। छानबिनपछि संचालक समितिलाई कार्ययोजना पेस गर्न एकसाताको समय दिइएको छ।

सहकारी रजिष्ट्रार भेषराज रिजालले भने, ‘एक सातामा कार्ययोजना ल्याउन भनेका छौं। उहाँहरुले कस्तो कार्ययोजना ल्याउनुहुन्छ? हेरौं। मिलाउने दायित्व उहाँहरुको हो।’ उनका अनुसार सहकारीमा ३ हजार जना बचतकर्ताको ५० करोड रुपैयाँ बचत रकम छ।

स्रोतका अनुसार सहकारीले बचत रकम फिर्ता नगरेपछि २ वर्षअघि नै रजिष्ट्रार कार्यालयमा उजुरी पर्न थालेको थियो। पछिल्लो समय अल्लि बढी परेपछि कार्यालयले छानबिन गरेको हो। तर,यसबारे प्रहरी कार्यालयमा उजुरी गइसकेको छैन।

‘कुनै पनि सहकारीले रकम हिनामिना गरे पैसा फिर्ता गर्नुपरो, ऋण लिएका तथा कुनै संचालकले कुनै नक्कली ऋणी बनाएको भए त्यो ऋण उसैले तिर्नुपरो,’ उनले अगाडि भने,‘बचतकर्ता, कार्यालयमा निवेदन दिने तथा आमसर्वसाधारणको पैसा फिर्ता दिनुपरो। यो भनेको त सहकारीको नीतिभित्र पर्ने कुरा हो।’

उक्त सहकारीको संचालक समिति अध्यक्ष सुरेन्द्रबहादुर गोदार हुन्। पोखरामा राम्रो छवि बनाएका अन्य मानिस पनि सहकारीमा जोडिएका छन्। तर आफूहरुको बचत जोखिममा परेको भन्दै बचतकर्ता चिन्तित छन्।

२०५८ सालदेखि पोखरा सहकारीले पोखराको सिर्जनाचोकबाट सेवा सुरु गरेकोमा पछिल्लो समय नयाँबजारमा प्रधानकार्यालय सञ्चालन गर्दै आएको छ। यसको अमरसिंह सिर्जनाचोकमा सेवा केन्द्रहरु संचालित छन्।

सहकारी उपाध्यक्षमा शम्भुराज बास्तोला, सचिवमा दिलबहादुर केसी (खत्री), कोषाध्यक्षमा हिरामणि दाहाल हुन्। सहकारी रजिष्ट्रार कार्यालयले विभिन्न सहकारी संकटमा पर्दै जान थालेपछि सहकारीको अनुगमन गर्ने, रिपोर्र्ट दिने, निर्देशन दिने, सानोतिनो गल्ती भएकालाई जरिवाना तिराउने काम गर्दै आएको छ। चालु आवमा कार्यालयले गण्डकीका ९६ सहकारीको अनुगमन गरिसकेको सहकारी रजिष्ट्रार रिजालले जानकारी दिए।

गण्डकी प्रदेशभर ३ हजार सहकारी छन् भने पोखरा महानगरपालिकाले हेर्न सहकारी करिब ३ सयवटा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले देशभर तरंग ल्याएको थियो। १८ हजार ७ सय जना बचतकर्ता रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा ६३ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बिगो माग दाबी गरिएको छ।

त्यस्तै, पोखरा महानगरमातहत इमेज सहकारी ठगी प्रकरणमा ६५ करोड तथा बलिदानी सहकारीको ११ करोड रकम हिनामिना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast