दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

हिमाल प्रेस ४ असार २०८२ १४:४१ | Wednesday, June 18, 2025
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

बागलुङ- तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ। गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो।

उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ। बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो।

बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको चार लाख ७५ हजारले युवालाई तालिम दिएको उनले जानकारी दिए।

ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताए। उनले भने,‘बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरुले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ। युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ।’

तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन्। युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गरे। सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उनको भनाइ छ।

तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताए। आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उनले बताए।

तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उनले बताए।

प्रकाशित: ४ असार २०८२ १४:४१ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast