सदन अवरोध गर्नुको कारण देखिँदैन : बास्कोटा

हिमाल प्रेस २७ जेठ २०८२ १४:०३ | Tuesday, June 10, 2025
सदन अवरोध गर्नुको कारण देखिँदैन : बास्कोटा

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले भ्रष्टाचारसम्बन्धी विषयमा अनुसन्धान चलिरहेको अवस्थामा संसद् अवरुद्ध गर्नु उपयुक्त नहुने बताएका छन्।

पूर्वमन्त्री बास्कोटाले संसद्मा भ्रष्टाचारको आरोप उठेपछि सम्बन्धित निकायले छानबिन गरिरहेको र त्यसको निष्कर्ष नआएसम्म धैर्य गर्नुपर्ने धारणा राखे।

रासससँगको कुराकानीमा उनले भने, ‘अख्तियार जस्तो नियमनकारी निकायले ‘छानबिन गर्दै छु’ भनेर भनिसकेको छ भने पर्खिनु पर्ने हो। अनुसन्धान र अभियोजन दुवै अधिकार उसैसँग छ। प्रतिवेदन आउन्जेल पर्खिनुपर्छ।’

उनका अनुसार कसैले राजीनामा दिनुपर्ने वा नदिनुपर्ने कुरा व्यक्तिगत निर्णय हो तर अन्ततः निर्णय कानुनको प्रक्रिया अनुसार हुनु आवश्यक छ। ‘मेरो मामिलामा मुद्दा उठ्दा मैले राजीनामा दिएको थिएँ। अरूलाई पनि त्यस्तै लागेमा निर्णय गर्छन्,’ उनले स्मरण गरे।

बास्कोटाले सदन अवरुद्ध गर्दा आम नागरिकको हितमा असर पर्ने बताए। उनले भने,‘बजेट रोक्नु भनेको जनतालाई रोक्नु हो। यो असफल हुने कुरा होइन। एमाले र कांग्रेसमध्ये कुनै एउटा असहमत नभए बजेट पास हुन्छ।’

उनले लोकतान्त्रिक गणतन्त्रमा कानुन सर्वोपरि हुने भन्दै व्यक्तिविशेषप्रति ‘दया र माया’ देखाएर उन्मुक्ति दिनु गलत हुने बताए। ‘पञ्चायत र हुकुमतन्त्र होइन, यो लोकतन्त्र हो। कानुनले जे भन्छ त्यही हुन्छ,’ उनले भने।

दुई सातादेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २७ जेठ २०८२ १४:०३ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast