
काठमाडौँ- नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने भएका छन्।
उपरथीमा बढुवा हुने क्रममा रहेका उनलाई पूर्वी पृतनाको निमित्तको जिम्मेवारी दिइएको सैन्य अधिकारीले जानकारी दिए। उनले करिब १४ महिना सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाले र नेपाली पत्रकारितालाई नजिकबाट नियाले। उनले बिहीबार नै आफ्नो सबै जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई हस्तान्तरण गरे।
सेनाको विटमा लेख्ने केही पत्रकारलाई समेत जंगी अड्डामा बोलाएर उनको स्थानमा आएका सहायक रथी बस्नेतलाई परिचय गराए। सेनाले सबैको बारेमा जानकारी फाइलिङमा नै राख्ने भए पनि औपचारिक कार्यक्रमसहित हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रमपछि हिमाल प्रेससँग जंगी अड्डास्थित कार्यालयमा रहेर गौरबले आफ्नो अनुभव सुनाए।
उनको दृष्टिमा नेपाली पत्रकारितालाई ‘हतारो पत्रकारिता’ मा गणना गरिएको छ। नेपाली सञ्चारमाध्यममा राम्रा अध्ययन गर्ने, पढ्नै पर्ने विषय कम हुने र राजनीतिक विषय पनि सामाजिक सञ्जालमा आएकालाई नै समाचारको रूपमा प्रस्तुत भएको पाउँदा खिन्न लाग्ने उनले बताए।
उनले नेपालमा ब्रेकिङ गर्ने निहुँमा धेरै समाचारहरु गडबड भएको सुनाए। ‘मानिसको मृत्युमा समेत चिप्लेर माफिमागेका घटनाहरु छन्। जुन हामीसँग पनि तथ्य पनि छन्,’ उनले भने, ‘कोही सम्मानित व्यक्तिको निधन भएको विषयमा राम्ररी जानकारी लिएरमात्र सम्प्रेषण गर्नुपर्ने हुन्छ, अलिकति ढिलाले के फरक पर्छ र, तर क्रेडिविलिटी एक पटक गुमेपछि आउँदैन।’
अहिले आफूले केही ‘सेलेक्टेड’बाहेक अन्य अनलाइन/ पत्रपत्रिका नहेर्ने बताउँदै भने, ‘ सामाजिक सञ्जालमा पनि रोकेको छु। बेकारमा फेक समाचार, स्पोन्सर समारचार नियालेर कति बस्ने? छिटो दिने होडबाजीभन्दा परिपक्व समाचार दिने होडबाजी राम्रो हुन्छ।’
उनले आफ्नो अनुभवमा रमाइलो कुरा पनि सुनाए- यहाँ त एउटाले विगार्यो भने साराले बिगार्ने। कतिसम्म भने बेलुका एउटा अनलाइनले केही बिगार्यो भने भोलि छापामा पनि बिग्रेकै आउने विषयले भने नेपाली पत्रकारिता अलिक चिन्ताजनक अवस्था र हतारोमा रहेको अनुभव सुनाए, गौरवले।
नेपाली पत्रकारिता निकै कमजोर भएको महसुस गरेको बताउँदै उनले भने, ‘पहिला गुगल नहुँदा बरु पुरानो पुस्ताले दुःख गरेका थिए। अहिले यति धेरै माध्यमहरु हुँदा पनि समाचारमा हेलचेक्र्याइँ हुने र राम्रा विषयलाई विरलै मात्र प्रशंसा गरेको पाउने गरेको पनि सुनाए।
जस्तो विषयमा पनि आशंका मात्र गर्ने र हतारमा लेखिदिने विषयप्रति उनले भने, ‘यसमा सुधार आवश्यक छ। नेपाली सेनाको सूचना हामी दिन्छौँ, नागरिकको तर्फबाट आम सञ्चारले नागरिकलाई सूचना सम्प्रेशण गर्ने हो। समाजको ऐना नै पत्रकार हो। तर खै त त्यो अनुरुपको भूमिका भन्दै उनले भने, ‘अधिकमा कमजोरी छ तर केही औँलामा गन्न सक्नेहरु लो प्रोफाइलमा बसेर राम्रो गरिरहेका पनि छन्।’
पछिल्लो समय क्षेत्रीय र विश्वको खबर नेपालमा खासै अध्ययन गर्न नपाइने भएको उनले बताए। विदेशी पत्रिका वा अनलाइन नै अध्ययन गर्न पर्ने अवस्था रहेको उनले सुनाए।
‘विगतमा नेपाल टेलिभिजनमा समेत विश्व घटना जस्तो कार्यक्रम आउँथ्यो जुन नेपाली समाजमा एकखाले छाप पारेका थिए, दुर्गानाथ शर्माले। खै अहिले यस प्रकारको विषयहरुलाई खाँदिलो तरिकाले कसले दिने गरेको छ? अनलाईनमा पनि पढ्नपाइएको छैन,’ गौरवले भने।
केही अनलाइनले टिप्पणी र ट्रान्सलेसन दिन्छन्। त्यसमा आफ्नो कुरा पनि राखेका हुन्छन्, त्यो अधिकले गर्न आवश्यक रहेको उनको सुझाव छ।
‘भारत–पाकको समस्या हुँदा यहाँ नेपाली मिडियाले सतर्कता आपनाउने विषयतर्फ खासै चासो देखाएनन् जति मोफसलका पत्रिका वा अनलाईनले देखाए। यस्तो विषय आम पाठकको अध्ययनको विषय हो। तर यहाँ खासै त्यो देखिएको छैन,’ उनले भने।
अन्तर्राष्ट्रिय राजनीति वा घटनाक्रमलाई नेपाली मिडियामा बहसको विषय बनाउन सकिए नयाँ रणनीति बनाउन सरकारका लागि सहज हुने गौरवको भनाइ छ।
उनले भने, ‘युक्रेन रसिया होस् वा इजरायल हमास होस् वा भारत पाकिस्तान होस् वा अन्य मुलुक। त्यसको अध्ययन गरेर त्यसले नेपलालई पार्ने असरबारे मिडियामा त बहस हुनैपर्छ। अनि न सरकारी निकायलाई पनि यस्तो रहेछ भन्ने लाग्छ र नयाँ रणनीतिमा जान्छ। अपनाउनुपर्ने पाटोहरुको जानकारी पनि दिनुपर्छ। छिमेकमा युद्ध नै भयो भने खाद्यान्न के गर्ने भन्ने विषय सोच्नै पर्छ। यसको छलफल राष्ट्रिय सुरक्षा परिषद्मा हुने र त्यो अनुरुप सहकार्य लिने काम हुन्छ।’
उनले अन्तर्राष्ट्रिय घटनमा देखाउने चासोले नै साना मुलकुहरु सबलीकृत हुँदै जाने जिकिर गरे। ‘विश्वमा त्यो मुलकुको नाम लिइन्छ। नेपाली सेना शान्ति सेनामा गएको कारण पनि नेपालमा पर्यटक आउने विभिन्न मध्ये एउटा माध्यम बनेको छ। अनि नेपाली डायसपोरा पनि विदेशमा उत्तिकै छ। त्यस्तो पाटोहरुलाई हामीले क्यास गर्न सकेका छैनौँ। त्यो पाटोमा नेपाली मिडिया चुकेको देखिन्छ,’ उनले भने।
नेपाली मिडिया अहिले पनि हतारमा देखिएको बताउँदै उनले गर्ने निहुँमा तथ्य गडबड गर्न नहुने जिकिर गरे।
उनले आफ्नो अनुभव सुनाउने क्रममा भने, ‘अधिक अध्ययन गर्ने गम्भीर विषयमा लेख्नेदेखि सुनाएको कुरा लगेर लेख्न नसक्नेहरुसम्म संगत गरियो। कतिपयलाई भेट्न पनि अस्विकार गरेँ होला। यद्यपि मिडियासँग सहकार्य गरेर काम अघि बढाउन उपयुक्त हुन्छ तर मिडिया पहिचान निकै आवश्यक छ।’
उनले नयाँ आएका प्रवक्ता बस्नेतलाई पनि त्यही कुराहरु सुनाएका थिए। हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका समेत महानिर्देशक रहेका उनले पनि सबैसँग सहकार्य गर्दै सेना र नागरिक सम्बन्धलाई मजबुद बनाउनमा जोड दिने बताए। उनी भारत, बेलायत, मलेसिया, अमेरिकालगायतका मुलुकमा सुरक्षा/रक्षा रणनीति उच्च शिक्षा हासिल गरेका व्यक्ति हुन्।
जिम्मेवारी सुम्पेर जाँदै गर्दा उनले आफूलाई निवर्तमान प्रवक्ताको रूपमा अब्बल भनेर पहिचान दिनेमा हिमाल प्रेस पनि रहेको बताए।