 
                            
                                            काठमाडौँ- सात नेपाली आमाहरू ग्रिसको लउत्राकी (एथेन्सबाट ८० किमि टाढा) मा ‘क्याच एन्ड सर्भ बल’ अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। चारजना नेपालबाट र तीनजना इजरायलमा कार्यरत नेपाली त्यसतर्फ गएका हुन्। उनीहरूले आफ्नै पहलमा उक्त खेल खेल्न नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ गएको बताएका छन्। नेपालमा यस खेलबारे चर्चा नभएको र खेलकुद परिषद् पनि यसमा खासै जानकार नरहेको कारण उनीहरू आफैँले पहलकदमी लिएर खेल्न गएका छन्।
‘क्याच एन्ब सर्भ बल’ को पहिलो महिला विश्वकप प्रतियोगिता हो। यद्यपि यसलाई आठौँ अन्तराष्ट्रिय प्रतियोगिता पनि भनिएको छ। यो मिड एज समूहले खेल्ने नयाँ र लोकप्रिय खेल हो। यसमा बल ‘क्याच’ र ‘थ्रो’ गरेर खेलिन्छ। सहभागीहरू आफूलाई भान्साबाट बाहिर निकाल्ने र स्वास्थ्य अवस्था चुस्त राख्न पनि खेल आवश्यक रहेको बताउँछन्। ग्रिसको लउत्राकीमा चार महादेशका १८ मुलुकबाट ३५ टिम सहभागी हुँदै छन्।
नेपालबाट सहभागी खेलाडीमा माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ, निर्मला गुरुङ, लमु आल्मोग, दिना न्यौपाने र पवित्रा ढकाल छन्। आल्मोग, न्यौपाने र ढकाल इजरायलबाटै ग्रिस पुग्नेछन्।
ग्रिसमा आयोजना हुनु अत्यन्त ऐतिहासिक र महत्त्वपूर्ण छ रहेकाे उनीहरूले बताएका छन्। ग्रिस ओलम्पिक खेलकुदको जन्मस्थल हो। प्राचीन सभ्यता र रमणीय प्राकृतिक दृश्यसँगै यो खेलले सहभागीलाई खेल भावना साटासाट र सांस्कृतिक आदानप्रदान दिलाउने आयोजकको दाबी छ। उनीहरूलाई विश्वभरिका श्रमिक र अमेच्योर खेलाडीको अन्तर्राष्ट्रिय संगठन, सहभागी साझेदार र हजारौँ खेलाडीलाई त्यहाँ स्वागत गर्नेछन्। प्रतियोगिताको सबै तयारी पूरा भएकाे आयोजकले जनाएकाे छ।
खेल मंगलबारदेखि ६ (जुन ३-८)दिन यो खेल चल्नेछ। यतिबेला ग्रिसको गर्मीलाई छिचोल्दै उनीहरू यो खेलमा सहभागी हुन लागेका हुन्। यो अन्तर्राष्ट्रिय क्याच एन्ड सर्भ बल स्पोर्टस फेडरेसनकाे सक्रियतामा हेलेनिक अर्गनाइजेसन फर कम्पनी स्पोट्स एन्ड हेल्थ (होक्स) ले याे खेल आयोजना गरेकाे हाे। खेलामा महिला तथा आमा खेलाडीले आपसमा प्रतिस्पर्धा गर्नेछन् भने साइड प्रतियोगितामा मिश्रित टोली पनि मैदानमा उत्रिनेछन्।

यसपटकको क्याच एन्ड सर्भ बल’ वर्ल्ड स्पोर्ट्समा तीन हजार ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी सहभागी हुँदै छन्। यो संख्याले अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता जनाउने कीर्तिमान बनाएको जनाइएकाे छ। प्रतियोगिता लउत्राकीको नगर हलमा हुनेछ। जहाँ इन्डोर्स हलमा ३ वटा कोर्टहरू छन्। एउटा अतिरिक्त कोर्ट नजिकै उपलब्ध हुने हुनाले त्यहाँ भने अभ्यास गराइनेछ। मिश्रित टाेलीलाई ६ र ७ जुनमा खेलाइनेछ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल खेलकुद परिषद्ले यो खेलबारे जानकारी लिएर दर्ता प्रक्रिया अघि बढाइसकेको छ। इजरायलका लागि पूर्वराजदूत अञ्जान शाक्यको सक्रियतामा यसको दर्ता प्रक्रिया अघि बढेको खेलमा सहभागी प्रतस्पर्धीले बताए। खेलकुद नियाल्ने सरकारी निकाय यसमा अनविज्ञ रहे पनि यसलाई अध्ययन गर्ने र त्यसलाई मान्यता दिने प्रक्रियामा छ।
क्याच एन्ड सर्भ बललाई क्याच एन्ड थ्रो बल पनि भनिन्छ। भलिबलकै शैलीमा ६-६ जना राखेर दुई टिम खेल्ने गरिन्छ। बललाई छिटो र सही तरिकाले क्याच गरेर अर्को खेलाडीलाई फाल्नुपर्छ। यस खेलमा मुख्य रूपमा द्रुतता, समन्वय र सही रणनीतिले खेलाडीको सफलता निर्धारण गर्छ।
एक टोलीमा सामान्यतया आठ खेलाडी हुने भए पनि खेल्ने ६ जनाले हो भने दुई वैकल्पिक खेलाडीका रूपमा बेन्चमा रहनेछन्। यसमा मध्यउमेर समूहका महिला सहभागी हुन पाउनेछन्। यो महिलाका लागि मात्र नभई पुरुषले पनि खेल्न सक्छन्। अहिले ग्रिसमा हुन लागेको महिला विश्वकप हो। नेपालबाट छानिएका दुईजनाले भिसा पाएनन्। तर जाे जान लागेका छन् उनीहरू पहिल्यै युराेप, अमेरिका र इजरायल बसेकाहरू छन्।
खेलको उद्देश्य भनेको आफ्नो टिमले बल क्याच गरेर अर्को टिमलाई थ्रो गर्ने क्रममा अंक बटुल्नु हो। बल फाल्ने र क्याच दुवैमा दक्ष हुनुपर्छ, किनकि बल छुट्ने वा राम्रोसँग क्याच नहुँदा विपक्षी टिमलाई मौका मिल्छ। भलिबल जस्तै भए पनि त्यसमा सर्ट हान्ने सर्भिस गर्ने फरक तरिका छ।
लामो समयसम्म चुलोचौकामा सीमित नेपाली महिला बिस्तारै बाहिर आइरहेका छन्। यही जनचेतनाका लागि पनि यो खेल साँच्चै उपयुक्त रहेको अधिकारीहरू बताउँछन्। पछिल्लो समय महिलाहरू शिक्षा, खेलकुद, राजनीति र समाजका अन्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन्। प्रतियोगितामा सहभागी एक महिलाले भनिन्, ‘क्याच एन्ड सर्भ बल विश्वकपमा हाम्रो सहभागिता पनि नेपालको उपस्थिति हो। हामी जस्ता महिला खेलाडीले ठूलो उत्साहका साथ सहभागिता जनाउँदै गर्दा यो खेल पनि नेपालमा राम्रो स्थान पाउने देख्छु।’

‘पहिले छोराछोरीका लागि कमाउन विदेश गइयो। अहिले छोराछोरी विदेशमा हुँदा यता एक्लो अनुभव भइरहेको अवस्थामा यस्ता खेलमार्फत पनि राज्यलाई केही गर्न सकिन्छ कि भनेर लागेका हौँ’, सहभागीमध्येकी माला खनालले भनिन्। खेलमा सहभागी हुन जान लागेकी व्यवसायी विसु पाण्डेले पनि कति काम काम भनेर मात्र विदेश यात्रा गर्ने भनेर यसपटक भने मुलुकको प्रतिनिधित्व गर्दै विश्वका हामी जस्तै आमा जम्मा हुने र खेल्ने यो विश्वकपमा हामी सहभागी हुन जान लागेको बताइन्।
खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा सहभागी भएको आधारमा छनोट भएका हुन्। उनीहरूले महिनौँसम्म आफ्नै पहलमा निरन्तर अभ्यास गरिरहेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रदर्शन देखाउन उनीहरूले त्यस प्रकारको पहल गरेका हुन्। टिमको नेतृत्व अनुभवी खेलाडीले गर्नेछन्।
यो खेल विश्वमा पहिलोपटक जर्मनीमा ३० वर्षअघि १९९५ तिर सुरु भएको थियो। त्यसपछि युरोपका विभिन्न देशमा लोकप्रिय भयो। अहिले युरोप, अमेरिका, एसिया र अन्य क्षेत्रहरूमा फैलिरहेको छ। नेपालले पनि विगत पाँच वर्षयता यस खेललाई विकास गर्दै आइरहेको छ र पहिलो पटक यो विश्वकपमा नेपालबाट सहभागिता जनाउँदैछन्।
क्याच एन्ड सर्भ बल विश्वकपमा नेपालको सहभागिता नेपाली खेलकुदका लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको खेलाडीको दाबी छ। यो खेलले नेपाली युवालाई नयाँ अवसर प्रदान गर्नेछ भने महिलालाई खेल क्षेत्रमा अझ सक्रिय बन्न प्रेरित गर्नेछ। खेलकुद मात्र पुरुषहरूका लागि नभई महिलाहरूका लागि पनि समान अवसर र सम्मान हाे भन्ने भाव यस खेलले दिनेछ।
ग्रिस जान लागेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली झन्डा उपलब्ध गराउँदै शुभकामना दिइएकाे थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 