अब नारामा होइन, काममा विश्वास गर्ने राजनीति चाहिन्छ : मानुषी यमि भट्टराई

हिमाल प्रेस ११ जेठ २०८२ १४:१३
54
SHARES
अब नारामा होइन, काममा विश्वास गर्ने राजनीति चाहिन्छ : मानुषी यमि भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की केन्द्रीय उपाध्यक्ष मानुषी यमि भट्टराईले देशको राजनीतिक अवस्था सुधारका लागि वैचारिक रूपले स्पष्ट र परिणाममुखी वैकल्पिक पार्टीको खाँचो रहेको बताएकी छन्।

पार्टीको गोकर्णेश्वर नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा विकास र समृद्धिको नारा ठूला लगाइए पनि व्यवहारमा काम नगर्ने र विचारशून्य प्रवृत्तिको वर्चस्व रहेको टिप्पणी गरिन्।

‘साँचिकै जनताका लागि काम गर्न चाहने हो भने वैकल्पिक शक्ति अहिले झन् बढी आवश्यक छ,’ उनले भनिन्। काम गर्ने सोच र दृष्टिकोण नबोकेको समूहले देश बदल्न नसक्ने उनको धारणा थियो।

उनले विचार र सिद्धान्तसँगै बलियो संगठन निर्माण अपरिहार्य रहेकोमा जोड दिइन्। ‘अबको राजनीतिमा होहल्ला र नाराबाट होइन, जनताले परिणाममुखी काम गर्नेहरूलाई पत्याउँछन्,’ उनले भनिन्।

उनले ठूला पार्टीहरूको आलोचना जनताले मात्र नभई उनीहरूकै पार्टीबाट पनि भइरहेको बताइन्। ‘कांग्रेस, एमाले र माओवादीको आलोचना अब हामीभन्दा बढी त उनीहरूकै पार्टीभित्रैबाट हुन थालेको छ। उनले थपिन्, ‘यदि यस्तै कार्यशैली रहिरह्यो भने जनताले ती दलहरूलाई अब पत्याउने छैनन्।’

मानुषीका अनुसार अबको राजनीति केवल नाराबाट चल्दैन। जनतासँग प्रत्यक्ष सम्पर्क, जवाफदेही कार्यशैली र गर्व गर्नलायक संगठन निर्माण आवश्यक छ। उनले विचार र सिद्धान्तले मात्र जनताको सबै प्रश्नको उत्तर दिन नसकिने भन्दै व्यवहारमै जनताको विश्वास जित्नुपर्ने चुनौती औँल्याइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast