
काठमाडौँ- पार्टी संसदीय दलबाट विस्थापित भएको १५ महिनापछि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट फेरि पदमा फर्किएका छन्। सुदूरपश्चिम माओवादीभित्रको खिचातानी र तीव्र गुटगत विभाजनले संसदीय दलको नेतासमेत गुमाएका भट्ट फेरि सोही पदमा फर्किएका हुन्।
१५ महिनाअघि अर्थात् २०८० साल माघ १२ गते बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी चयन भएका थिए। धामीभन्दा भट्ट ‘सिनियर’ भएका कारण अन्याय भएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पटकपटक दलको नेता फेर्ने निर्देशन दिएका थिए। भट्टभन्दा इतरपक्षीय नेताहरूले प्रचण्डको निर्देशनसमेत मानेनन्।
गत शुक्रबार प्रचण्ड डडेलधुरा पुगेकै अवसरमा भट्टलाई संसदीय दलको नेता बनाइयो। लामो समय अन्तरसंघर्षमा रुमल्लिएको सुदूरपश्चिम माओवादी भट्ट जिम्मेवारीमा फर्किएपछि समस्या समाधानतर्फ केन्द्रित भएको छ। इतर पक्षीय नेताहरूले समेत भट्ट सिनियर नेता भएको भन्दै पद हस्तान्तरण गरेको बताएका छन्।
यसरी निकालिएका थिए भट्ट
२०८० साल माघमा धामीलाई सुदूरपश्चिमका ७ सांसदले साथ दिएका थिए। माओवादीका ११ सांसदमध्ये एकजना सुदूरपश्चिमको सभामुख थिए। त्यसबेला सुदूरपश्चिममा भट्टका पक्षमा ४ जना मात्र उभिएका थिए।
अहिले भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह वली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए। अहिले वली पनि भट्टतर्फ लागेपछि धामी र भट्ट समूहमा पाँचपाँचजना प्रदेशसभा सदस्य छन्।
नेताहरूका अनुसार भट्टलाई माओवादी उपमहासचिव जनार्दन शर्मा निकटस्थ भन्दै उपमहासचिव वर्षमान पुन र वरिष्ठ उपाध्यक्ष गिरिराजमणि पोखरेल निकटस्थ सांसदहरू धामीका पक्षमा उभिएका थिए।
सुदूरपश्चिम माओवादीका सांसदहरू शिवसिंह ओली, झपट साउद र लक्ष्मी विक नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। भट्टलाई पदमा विस्थापित गर्नुअघिबाटै राजीनामा दिन धामी पक्षबाट दबाब आइरहेको थियो। ‘माथिबाट निर्देशन नआएको’ भन्दै भट्ट आनाकानी गरिरहे। त्यसबेला माओवादी सरकारमा सामेल थियो। भट्ट निकट एक नेताका अनुसार भट्टलाई जानकारी नदिई संसदीय दलको नेता फेरिएको थियो।
माओवादी संसदीय दलको उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले भट्टलाई हटाएर धामीलाई नेता चुनेको थियो। यसपछि अन्यायमा परेको भन्दै भट्टले प्रचण्डलाई पत्र पठाएका थिए। प्रचण्डले पनि निर्देशन पठाए तर समस्या समाधान भएन।
यसरी भयो समाधान
यति बेला माओवादीले मध्यपहाडी लोकमार्ग सडक अभियानमा केन्द्रित छ। अभियान जेठ २ गते डढेलधुराबाट सुरु भएको हो। संयोग मान्नुपर्छ– भट्टको गृह क्षेत्र डडेलधुरा हो। डडेलधुराबाट अभियान सुरु गर्नुअघि संसदीय दलको नेता फेर्न प्रचण्डले निर्देशन दिएका थिए।
‘विगतदेखि नै छलफल भएका थिए तर छलफलले पूर्णता पाएका थिएनन्,’ भट्टले हिमालप्रेससँग भने, ‘सबैतिरबाट सुझाव र सल्लाह मिल्दै आएपछि समस्या सुल्झियो।’ भट्टका अनुसार यसअघि समस्या समाधानका लागि प्रचण्डले काठमाडौँ बोलाएका थिए। प्रचण्ड बिरामी भएका कारण छलफलमा बस्न सकेनन् र सुदूरपश्चिमका नेताहरू फर्किएका थिए।
केही समयअघिदेखि सुदूरपश्चिमको माओवादी इन्चार्ज भएर खटिएका माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल पनि समस्या समाधानका लागि खटिएका थिए।
नेताहरूका अनुुसार विगतमा धामीलाई समर्थन गर्ने केही सांसदहरू समेत भट्टको लाइनमा उभिएका थिए। केही समयअघि प्रचण्डले बोलाएको बैठकमा समेत ती सांसदले भट्टलाई न्याय दिनुपर्ने बताएका थिए।
माओवादी नेत्रृ एवं विगतमा सुदूरपश्चिमबाट नेतृत्व गर्ने विना मगरले समेत विवाद रहिराख्नु राम्रो नहुने भन्दै समन्वय गरेकी थिइन्। प्रचण्डसहित उच्चस्तरीय नेताहरू एक ठाउँमा उभिँदा सुदूरपश्चिमभित्रका नेताहरू दबाबमा परेको नेताहरू बताउँछन्।
धामी भने आफू विधिले दलको नेता भएको दाबी गर्दै आएका थिए। उच्चस्तरीय नेताका अगाडि उनको केही लागेन। धामी पक्षीय नेताले भने तत्काललाई विवाद समाधान गरेको बताएका छन्। भट्ट भने अब सबै पक्षीयलाई मिलाएर जान आफू प्रतिबद्ध रहेको बताउँछन्।
प्रचण्डले प्रतिबद्धता पूरा नगर्दा….
गत २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भट्ट डडेलधुराबाट प्रतिनिधिसभाका सदस्यका दाबेदार थिए। नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन भएका बेला शेरबहादुर देउवालाई डडेलधुरा क्षेत्र छाड्नुपर्ने भयो। उनी माओवादीका एकमात्र उपल्लो तहका नेता अर्थात् प्रदेश झरेका स्थायी समिति सदस्य हुन्।
त्यसबेला देउवा–प्रचण्डले भट्टलाई प्रदेशमा जिताएर पठाउन अनुरोध गर्दै मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। भट्टले पनि प्रदेश सदस्य जिते। चुनावपछि प्रचण्डले गठबन्धन फेरे।
केन्द्रीय सत्तामै माओवादी–एमाले गठबन्धन बन्यो। सोही गठबन्धन मुख्यमन्त्री भागबन्डामा सुदूरपश्चिम एमालेको भागमा पर्यो। एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि सुदूरपश्चिम ओलीले एमालेलाई छाडेका थिए। यतिबेला नै भट्ट बिचल्लीमा परेका थिए। त्यसबेला कोशी (तत्कालीन प्रदेश १), गण्डकी, लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको थियो।
माओवादीको भागमा बागमती र कर्णाली परेको थियो। मधेश भने जसपा नेपालले पायो। त्यसपछि केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरियो। नेताहरूका अनुसार माओवादी तत्काल सरकारमा जाने सम्भावना कम भएकाले पनि विवाद मिलेको हो।
प्रचण्डले समेत सुदूरपश्चिममा भट्टलाई अघि बढाउँदा माओवादी शक्ति बढ्ने अनुमान गरेका थिए। यसअघि प्रचण्डका निकटस्थ मानिने लेखराज भट्ट एमाले गएपछि माओवादी कमजोर भएको नेताहरूको भनाइ छ। सुदूरपश्चिममा लेखराजका विकल्पमा खगराजलाई अघि बढाउन सकिने अनुमान प्रचण्डको छ।