पालुङटार विमानस्थलको पुनर्निर्माण छिटो गर्न डा.भट्टराईको आग्रह

हिमाल प्रेस २ जेठ २०८२ ७:२२
64
SHARES
पालुङटार विमानस्थलको पुनर्निर्माण छिटो गर्न डा.भट्टराईको आग्रह

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पालुङटार विमानस्थलको दीर्घकालीन महत्वलाई बुझेको भन्दै यसको पुनर्निर्माण चाँडो सम्पन्न गर्न आग्रह गरेका छन्। गोरखा–२ बाट तीनपटक निर्वाचित भट्टराईको निर्वाचन क्षेत्र पनि यही हो।

डा. भट्टराईले भनेका छन्, ‘गोरखा, लमजुङ र तनहुँको सीमाना, मर्स्याङ्दी र चेपे नदीको दोभान, विश्वप्रसिद्ध अन्नपूर्ण र मनास्लु हिमशृंखलाको फेदी, वर्तमान नेपाल राज्यको उद्गमस्थल ऐतिहासिक लिगलिगकोटको आँगन र काठमाडौँ–पोखरा–भरतपुर महानगरहरूको समदूरीमा रहेको पालुङटार विमानस्थलको दीर्घकालीन महत्वलाई बोध गर्दै यसको पुनर्निर्माण छिटो सम्पन्न गरौं।’

उनले पालुङटार क्षेत्रको समग्र विकासमा सबैको ध्यान जानु आवश्यक रहेको भन्दै थपे, ‘संयोगले हिजो (जेठ १ गते) प्रम ओलीले ‘सगरमाथा सम्वाद’ को पूर्वसन्ध्यामा आयोजना गर्नुभएको रात्रीभोजको क्रममा एकसाथ भेटिनुभएका प्रम, मन्त्री र उच्च पदस्थहरूसँग प्रमले हालै पालुङटारमा फिल्मसिटी बनाउन उपयुक्त हुने भनी अभिव्यक्ति दिनुभएकोमा आभार व्यक्त गर्दै पालुङटारको सर्वतोमुखी विकासमा सबैले ध्यान दिन अनुरोध गरेको छु।’

त्यस्तै, डा. भट्टराईले पालुङटारसँग जोडिएका टारहरूमा सिँचाइ योजना रोकिने भन्ने चर्चा प्रति पनि चासो व्यक्त गरेका छन्। उनले भने,’साथै पालुङटारसँग जोडिएका गाइखुरटार, च्यांगलीटार लगायतका थुप्रै टारहरू (र,गोरखाका अन्य भागका टारहरू समेत) मा आधुनिक सिँचाइको व्यवस्था गर्न मेरो अग्रसरतामा सुरुभएको बृहत् सिँचाइ योजनाको कार्यालय नै बन्द गर्ने र अन्यत्र लैजाने भनी प्राप्त हल्लाबारे सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्दै त्यसो नगर्न आग्रह गरेको छु।’

भट्टराईले नागरिकहरूलाई पनि सचेत रहन र निरन्तर खबरदारी गर्न आह्वान गरेका छन्। ‘हेरौं। सबै सचेत बनौं र निरन्तर खबरदारी गरौं,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast