
काठमाडौँ- नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने बताएका छन्।
उभौली पर्वको अवसरमा उनले आज शुभकामना व्यक्त गर्दै लामो संघर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको बताएका हुन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
उनले उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव भएको बताउँदै यो पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले यस पर्वले किरात समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्नुका साथै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणतर्फ योगदान पुगोस् भन्ने कामना पनि गरेका छन्।