नाउपा-जनमत : रेशम पक्राउ मात्र होइन एकता नहुनुको कारण

किरण पौडेल २६ वैशाख २०८२ १०:३६
52
SHARES
नाउपा-जनमत : रेशम पक्राउ मात्र होइन एकता नहुनुको कारण

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच तत्काल एकता नहुने भएको छ। नाउपाका संरक्षक रेशम चौधरी पक्राउपछि भड्किएको एकता तत्कालका लागि नहुने भएको हो।

गत वैशाख १७ मा तामझामका साथ नाउपा र जनमत पार्टीबीच एकता तयारी भइरहेका बेला रेशम पक्राउले बिथोलिएको एकता अब कहिले हुन्छ टुंगो नभएको नेताहरूले बताएका छन्।

लामो समय कारागार बसेर निस्किएका संरक्षक चौधरी प्रज्ञा भवन (एकता स्थल)बाटै पक्राउ परे। टीकापुर नरसंहारमा दोषी प्रमाणित भएका रेशम राष्ट्रपतिबाट माफी पाएर छुटेका थिए। उनको रिहाइविरुद्ध सर्वोच्चमा रिट परेको थियो। रिट विचाराधीन परेकै बेला रेशम पक्राउ परेका थिए।

सबै पक्षलाई चकित खुवाउने गरी पक्राउ परेका रेशम पक्राउले एकता भाँडियो। तर अदालतले फैसला नगरी ‘फेक पक्राउ पुर्जी’ जारी भएको थियो। त्यही कारण उनी रिहा भए। ‘फेक पक्राउ पुर्जी’ जारी गर्ने अधिकृत महिमानसिंह विष्ट पक्राउ परे। रेशम छुटेको एक साताभन्दा बढी भइसकेको छ। एकता गर्न लागेका दुई दल फेरि ताम्सिएका छैनन्।

रेशम पक्राउ परेपछि जनमतका अध्यक्ष सीके राउतले एकता प्रक्रिया रोकेका थिए। तर एकता प्रक्रियाका लागि फेरि बोलाइएको छैन। एकताका लागि दुवै दल अनिच्छुक किन देखिए अचम्मको विषय छ। रेशम छुटेका कारण भोलिपल्ट वा पर्सिपल्टै एकता हुन सक्थ्यो। तर त्यसो भएन।

दुवै दलका नेताले तत्कालका लागि एकता स्थगित भएको बताएका छन्। तर कहिलेसम्मका लागि हो भन्ने प्रस्ट जबाफ उनीहरूसँग छैन। एकताका लागि आह्वान गर्नुको साटो कार्यकर्तालाई घर फर्कन अनुरोध गरिरहेका छन्।

नाउपाका महासचिव गंगाराम थारूले पार्टी एकतामा उपस्थित भएकालाई धन्यवाद दिएका छन्। उनले एकता प्रक्रियाका विषयमा भने कुरा गरेका छैनन्। यसबाट पनि तत्काल एकता हुने सम्भावना नरहेको बुझिन्छ।

किन तत्काल एकता चाहँदैनन् दुवै पार्टी?

दुवै (नाउपा-जनमत) को आन्तरिक खिचातानी चलिरहेको छ। नाउपामा रेशम र रन्जिताबीच आन्तरिक कलह निरन्तर छ। जनमतमा समेत आन्तरिक तिक्तता बढ्दो छ।
पार्टी विधानविपरीत चलेको भन्दै अध्यक्ष सीकेले केही नेतालाई कारबाहीसमेत गरेका छन्। नेताहरूका अनुसार दुई पार्टीको तिक्तता नसुल्झिँदै एकता हुन लागेको थियो। रेशम पक्राउले पछि धकेलियो। उनीहरूका अनुुसार अब केन्द्रीय स्तरको भागबन्डा मिलेपछि मात्र एकता गर्ने तयारी छ।

‘पहिले अध्यक्ष-सहअध्यक्ष मात्र मिलायौँ। अब सबै छिनोफानो सकेर मात्र एकता गर्छौँ,’ जनमतका उपाध्यक्ष अब्दुल खान भन्छन्, ‘एकता भाँडियो, अब के हतार गर्ने र!’ दुवै पार्टीका नेताहरू तत्काल एकता नहुनुको कारण पनि भिन्नभिन्न रहेको बताउँछन्।

खानका अनुसार जनमतले एकतापछि हुन सक्ने खिचातानी हल गर्न ढिला गरिएको हो। उनले केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति सबै तय गरेर एकता गर्ने बताए। नाउपा नेता लालवीर चौधरी भने एकता प्रक्रिया थाल्दा पुरानै समस्या आउन सक्ने भएकाले तत्काल प्रक्रिया रोकिएको बताउँछन्। ‘हठात् प्रहरीले पक्राउ गर्‍यो, अब पनि त्यस्तै भयो भने के गर्ने!’ रेशमका बाबुसमेत रहेका लालवीरले भने, ‘अस्तिको घटना कसरी भयो, सत्यतथ्य आओस् भनेर पनि ढिला गरेको हो।’

एकता प्रक्रियाअघि नै तिक्तता

नेताहरूको भनाइअनुसार गत वैशाख १७ को एकता ‘बाध्यात्मक’ जस्तो बनेको थियो। मिति पहिल्यै घोषणा गरेकाले समायोजित हुनुपर्ने बाध्यता रहेको नेताहरूको भनाइ छ। दोस्रो स्तरका नेताको भागबन्डा मिलेको थिएन। एकतापछि सात सय सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०-५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो।

दुवै पार्टीबाट २५-२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो। २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनमतबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने सहमति भएको थियो।

एकीकृत पार्टीको सचिवालयमा नाउपाको वर्चस्व भएको जनमतको दाबी थियो। किनभने नाउपाबाट सचिवालयमा १३ जना पर्थे भने जनमतबाट १२ जना मात्र थिए। ‘सबै पक्षको सहमतिमै एकता गरौँ भन्नेमा हामी छौँ’, नाउपा उपाध्यक्ष खान भन्छन्, ‘एकतापछि फेरि बिग्रह नहोस् भन्नेमा सचेत छौँ। सानातिना विवाद पनि मिलाएर लैजानेछौँ।’

उनका अनुसार समीकरण मिलाउन समितिका सदस्य बढाउने तयारी चलेको छ। ‘हामी संगठनहरूसमेत मिलाएर लैजाऊँ भन्नेमा छौँ। जिल्लाको समीकरणसमेत मिलाउँदा राम्रो होला भन्ने पनि छ’, खानले भने।

रन्जिता ‘फ्याक्टर’ हैरानीमा एकता

जनमतका नेताहरू नाउपासँग एकता हैरानी खेप्नुपरेको बताउँछन्। किनभने नाउपामा अहिले दुई किसिमको शक्ति समीकरण छ। रेशम पार्टीका हर्ताकर्ता हुन्। नेताहरूका अनुसार पार्टीमा रेशमकै निर्देशन चल्छ। तर पार्टीको वैधानिक अध्यक्ष र संसदीय दलको नेता रन्जिता हुन्। कानुनतः पार्टीमा रन्जिताकै निर्देशन चल्नुपर्ने हो। रेशम-रन्जिता खिचातानीले एकता प्रक्रिया पनि प्रभावित बनेको छ।

‘हामीले कसको निर्देशन मान्ने हैरान बनाएको छ’, जनमतका एक नेता भन्छन्, ‘शक्ति भएकालाई मान्ने कि कानुनले चिन्नेलाई, साह्रै अनौठो छ।’ एकता प्रक्रियाका लागि जनमतसँग रेशमले प्रक्रिया अगाडि बढाएका हुन्।

आफू संरक्षक बन्ने, राउतलाई अध्यक्ष स्वीकार्ने निर्णय गर्दा रन्जिता सह-अध्यक्षमा खुम्चिएकी थिइन्। केही समय रन्जिताले रेशमको निर्णयप्रति असन्तुष्टिसमेत जनाइन्। बाध्यात्मक अवस्था भए पनि उनी एकता प्रक्रियामा सामेल भइन्। नेताहरूका अनुसार रन्जिता सहअध्यक्ष बन्न बाध्य भएपछि एकता प्रक्रिया अघि बढेको थियो। तर रेशम पक्राउले प्रक्रिया भाँडिएको छ।

प्रकाशित: २६ वैशाख २०८२ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast