
काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरूद्ध सैन्य कारबाही गरे कडा जवाफ दिने बताएका छन्। जयशंकरले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग भएको भेटका क्रममा यस्तो बताएका हुन्।
अरागची भारत–इरानमैत्री सन्धिको ७५ औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्य समीक्षा बैठकमा सहभागी हुन भारत भ्रमणमा आएका छन्।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन्।
२२ अप्रिलमा पहलगाममा भएको आक्रमणबारे इरानका विदेशमन्त्री अरागचीलाई जानकारी गराउँदै उनले भनेका छन्,‘यो आक्रमणले हामीलाई सीमापारी आक्रमण गर्न बाध्य बनायो।’
पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानमा रहेका ‘आतंककारी अड्डा’ लाई निशाना बनाएर आक्रमण गरेको जयशंकरले बताएका छन्।
उनले भने,‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हाम्राविरूद्ध सैनिक कारबाही गरियो भने, हामी त्यसको कडा र स्पष्ट जवाफ दिने भन्ने कुरामा कुनै शंका छैन।’
छिमेकी र नजिकको साझेदारका रूपमा पछिल्लो परिस्थितिबारे इरानलाई जानकारी हुन आवश्यक रहेको जयशंकरले बताएका छन्।
‘एउटा छिमेकी र नजिकको साझेदारको रूपमा तपाईँलाइ परिस्थितिबारे राम्रोसँग जानकारी हुनु महत्वपूर्ण छ,’ जयशंकरले इरानी विदेशमन्त्री अरागचीलाई भने।