राजा त्रिभुवनले गद्दी छाडेर भारत जानुअगाडि चीन जान खोजेको रहस्य

तत्कालीन राजा त्रिभुवन माओले सहयोग गर्न नसक्ने र भारतसँग सहयोग गर्न सहज हुने बताएपछि २००७ सालमा गद्दी छाडेर सपरिवार भारत गएका थिए

डा. प्रेमसिंह बस्न्यात २२ वैशाख २०८२ ११:०१
44
SHARES
राजा त्रिभुवनले गद्दी छाडेर भारत जानुअगाडि चीन जान खोजेको रहस्य

राजा त्रिभुवनले राजगद्दी छाडेर भारतीय दूतावासमार्फत सपरिवार (नाति ज्ञानेन्द्रबाहेक) नयाँदिल्ली जानुभन्दा धेरै अगाडिदेखि चीनको सहयोग खोजेका रहेछन्। उनले चीनको सहयोगबाट नेपालमा राणा शासन अन्त्य गर्न खोजेको तथ्य फेला परेको छ। इतिहासको खाेजी गर्ने क्रममा यो तथ्य मेरोसामु आयो र सम्बन्धित परिवारका सदस्यसँग भेटेर कुराकानी गर्दा र विगतको तथ्य हेर्दा म प्रस्ट भएँ।

राजा त्रिभुवनले चिनियाँ सहयोगको आग्रह गर्दै माओत्सेतुङलाई अंग्रेजी भाषामा लेखिएको गोप्य पत्र पठाएका रहेछन्। पत्रको जवाफमा माओले ‘हामी भौगोलिक दूरी र यातायातको साधनबाट धेरै टाढा छौँ। हजुरको इच्छालाई साथ दिने चाहना हुँदाहुँदै पनि चीनले भन्दा यो मामिलामा भारतले छिटो र भरपर्दो मद्दत गर्न सक्छ। भारतसँग पहल गर्नु हुन म सुझाव दिन्छु,’ भन्दै गोप्य जवाफ पठाएका रहेछन्।

त्यसपछि मात्र धर्मभक्त, नर्स एरिका आदि माध्यमबाट भारतीय दूतावासको प्रयास अघि बढेकाे रहेछ। भारतीय दूतावासको विशेष सहयोगबाट तत्कालीन श्री ५ त्रिभुवन भारत पुग्न सफल भएका रहेछन्। उनी भारत पुगेपछिको विषय सबैले अध्ययन गरेकै हुनुपर्छ। अध्ययन नगरेकाले पनि सुनेको हुनुपर्छ।

माओत्सेतुङलाई चिठी पठाउन कसरी सफल भएको भन्ने तथ्य निकै मार्मिक छ। काठमाडौँ कोहिटी ‘मिनाक्षे’ निवासी त्रिभुवनका विश्वासिला काजी कृष्णलाल चित्रकारले पहिला काठमाडौँ बौद्ध निवासी चिनियाँ लामालाई राजा त्रिभुवनको खबर सुनाएपछि चिनियाँ लामा तयार भएर सन्देश उता लगेका रहेछन्। त्यो पत्र पठाउन गरेकाे तयारी पनि चाखलाग्दो छ। त्यसपछि राजा त्रिभुवनले अंग्रेजी भाषामा सीधै माओत्सेतुङलाई नेपालमा प्रजातन्त्र ल्याउनका लागि सहयोग गर्न र आफ्नो परिवारलाई पेकिङ पुग्ने व्यवस्था गर्नुहुन अनुरोध पत्र लेखेका रहेछन्।

‘हामी भौगोलिक दूरी र यातायातको साधनबाट धेरै टाढा छौँ। हजुरको इच्छालाई साथ दिने चाहना हुँदाहुँदै पनि चीनले भन्दा यो मामिलामा भारतले छिट्टो र भरपर्दो मद्दत गर्न सक्छ। भारतसँग नै पहल गर्नु हुन म सुझाव दिन्छु।’

त्यो गोप्य पत्र गीता पुस्तकको हार्डकभर (बाहिरी साह्रो जिल्ला) खुर्केर पुस्तकको कभर बनाई जिल्लाभित्र लुकाइएको रहेछ। त्यो गीताको पुस्तक चिनियाँ लामाले विशेष सूत्रबाट भारत उतारी बेइजिङ पठाएका रहेछन्। पत्र जसरी गीतामार्फत गयो, त्यसैगरी माओको जवाफ राजा त्रिभुवनलाई आएको रहेछ।

यस काममा काजी कृष्णलाल र उनकी छोरीको पनि ठूलो भूमिका रहेछ। पत्रको जवाफमा माओले ‘हामीलाई यस विषयमा सहयोग गर्ने चाहना छ। तर यातायातको साधन र भौगोलिक दूरीले गर्दा त्यति व्यावहारिक नहोला? तसर्थ भारतलाई विश्वासमा लिएर यो काम गर्दा राम्रो हुन्छ।’  अनि मात्र राजा त्रिभुवन भारततर्फ फर्केका रहेछन्।

काजी कृष्णलालका छोरा इन्जिनियर रविनसँग लेखक एवं इतिहासका अध्येता डा. प्रेमसिंह बस्न्यात।

अर्को महत्त्वपूर्ण कुरा के पनि रहेछ भने २००७ साल फागुनमा राजा त्रिभुवन नयाँदिल्लीबाट नेपाल फर्कनुअघि बेलायतको योजनामा राष्ट्रसंघ (यूएन) को प्रतिनिधि नेपाल पठाई नेपाली जनताले राजा त्रिभुवनलाई स्विकार्छन् वा स्विकार्दैनन्? भनी बुझ्न लगाएका रहेछन्। त्यसपछि यूएनले एउटा विमान चार्टर गरेर पठाई काठमाडौँ गौचरण उत्रेका रहेछन्।

यो कुरा गोप्य रूपले भारतीय दूतावासले नेपालका प्रजातन्त्रवादी नेतालाई खबर गरेकोले राणा सरकारको आँखा छलेर सयौँ जनता गौचरण पुगिसकेका रहेछन्। अनि यूएनका प्रतिनिधि हवाईजहाजबाट उत्रेर जनतालाई के तपाईंहरू त्रिभुवनलाई राजा भएको हेर्न चाहनुहुन्छ? भन्दै सोधेपछि सबैले नेपाली भाषाबाट हामीलाई त्रिभुवन राजा हुनैपर्छ भन्ने जवाफ दिएछन्। यूएन प्रतिनिधिले यसरी राणा शासन अन्त्य उत्कर्षमा रहेको थाहा पाए। अनि उनीहरू एयरपोर्टबाट फर्केका थिए।

यो रिपोर्ट यूएनमा पुगेपछि बेलायतकाे सुझावसहित राजा त्रिभुवनलाई नेपाल फर्काउने काम भएको हो। मैले काठमाडौँ महानगरपालिका-१३ ताहाचल निवासी काजी कृष्णलालका छोरा इन्जिनियर रविनलाल चित्रकारसँग अन्तरवार्ता लिएँ। सोही स्रोतबाट पुष्टि  गर्दै यी कुरा लेखेको हुँ। मसँग यसबारेमा भिडियो पनि सुरक्षित छ। त्यसलाई  केही समयपछि बाहिर ल्याउनेछु।

काजी कृष्णलाल १६ वर्षको उमेरमा राजा त्रिभुवनको पालामा राजदरबारको नोकरीमा प्रवेश गरी राजा महेन्द्र र राजा वीरेन्द्रको समेत गरेर ७४ वर्ष सेवा गरेका थिए।

इतिहासको उत्खनन सहज छैन। मेरो विशेष अनुरोध छ- म इतिहासमा पूर्ण छैन, पक्का पनि छैन। लुकेका खेस्रा (रफ हिस्ट्री) इतिहास जनसामु पस्कने प्रयास गरिरहेको छु। खेस्रा इतिहासलाई सही इतिहास (फ्याक्ट बेस स्टोरी) बनाउन म निरन्तर लागिपरेको छु। सम्बन्धित व्यक्ति भेट्ने काम पनि गरिरहेको छु। इतिहास नियाल्नुहोस् र खोजेर हेर्नुहोस्। पत्ता लगाउन त्यति सजिलो छैन। इतिहास खोजमा लाग्नुहुनेप्रति सम्मान!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast