
काठमाडौँ- केपी शर्मा ओली नेकपा एमालेमा एकछत्र राजलाई निरन्तरता दिने रणनीतिमा सक्रिय रहेको एमालेका नेताहरूले बताएका छन्। झन्डै एक दशकदेखि पार्टीभित्र प्रतिस्पर्धीहरूलाई कमजोर बनाउँदै अघि बढेका ओली तेस्रो पटक पनि पार्टी नेतृत्वमा जाने दाउमा रहेका हुन्।
एमालेको नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली दसौँ महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका थिए। उनी अब पनि अध्यक्ष बन्ने तयारीमा रहेको निकट नेताहरूको दाबी छ। यसैले पनि ओली जसरी पनि अध्यक्ष बन्ने तयारीमा जुटेको नेताहरू सुनाउँछन्। केही दिनअघि एक कार्यक्रममा ओलीले ‘एमाले २० वर्ष कसैले आस नगरे हुने’ भन्ने अभिव्यक्ति दिएका थिए।
एमालेको ७६ औँ स्थापना दिवसका अवसरमा ओलीले भनेका थिए ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०-२५ वर्षपछि बूढो हुन्छु। कसैले हतार गरेर हुँदैन। केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन।’ उनले बारम्बार यस्तो अभिव्यक्ति दिइरहेका छन्। गत वर्ष पोखराको एक कार्यक्रममा पनि ओलीले पनि यस्तै अभिव्यक्ति दिएका थिए।
‘कसैले एमालेबिनाको देशको पनि कल्पना गरेका छन्। केपी ओलीबिनाको एमाले किन खोजेको होला? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भनेका थिए, ‘कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ। केपी ओली नभइदिए, यसो गथ्र्यौँ, उसो गथ्र्यौं, लाग्या होला। मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला–काला हुन थाले भनेर। अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ। यो रोपेको होइन, आफैँ पलाउन थालेको छ। मैले भने नि २० वर्ष जति अरू कसैले आश नगरे पनि हुन्छ।’
ओलीको अभिव्यक्ति मात्र नभई एमालेमा गृहकार्य पनि त्यस्तै रहेको नेताहरूको दाबी छ। किनभने एमालेले यसै वर्षमा ११ औँ महाधिवेशन गर्दैछ। एमाले आगामी वैशाखसम्ममा महाधिवेशन सक्ने तयारीमा छ।
‘यो वर्ष हाम्रा लागि महत्त्वपूर्ण वर्ष हुनेछ। हामी महाधिवेशन गर्दैछौँ,’ एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हिमालप्रेससँग भने, ‘विधान सम्मेलनले मिति तय गर्छ। तर यसै वर्ष हुन्छ।’
एमालेले आगामी भदौ २०, २१ र २२ गते विधान सम्मेलन गर्दैछ। यसअघिको एमालेको केन्द्रीय कमिटी बैठकले विधान सम्मेलनको मिति तय गरेको हो। नेताहरूका अनुसार विधान सम्मेलनको ६ महिनाभित्रमा महाधिवेशन गर्ने प्रचलन छ। यद्यपि यो वैधानिक बाध्यताचाहिँ होइन। ‘हामीले विधान सम्मेलन गरेको ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी गरेका छौँ। त्यसैले यही वर्ष महाधिवेशन हुने सम्भावना छ’, अधिकारी थप्छन्। नेताहरूका अनुसार ओली मंसिरदेखि चैतसम्ममा महाधिवेशन गर्ने तयारीमा छन्।
‘मंसिरमै महाधिवेशन भयो भने पनि अनौठो नमाने हुन्छ’, एमालेका अर्का एक नेता भन्छन्। २०८२ सालमै महाधिवेशन भएमा एक वर्षअगाडि नै हो। किनभने एमालेको महाधिवेशन गरेको २०८३ सालमा मात्रै पाँच वर्ष पुग्छ। वैधानिक रूपमा वा अन्य कुनै कारणले एमालेलाई तत्काल महाधिवेशन गर्नु जरुरी छैन। एमालेको १० औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो।
महाधिवेशन अगाडि तान्नुको कारण अनेक देखाउँछन् एमाले नेताहरू। मुख्य कारण हो, एमालेको फेरि अध्यक्ष बन्ने चाहना।
किन हतारिए ओली?
२०८३ मंसिरसम्म कुर्दा एमालेको नेतृत्वमा आफ्नो प्रतिकूल आउन सक्ने ओलीको बुझाइ रहेको उनी निकट नेताहरूको दाबी छ। ‘विद्या भण्डारी जोडतोडका रूपमा अघि बढिरहनुभएको छ। अध्यक्षज्यूले विद्या दिदीकै डर देखिन्छ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘यसैले यही वर्ष महाधिवेशन गरेर सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना देखिन्छ।’
भण्डारी एमालेभित्रका अधिकांश नेतासँग नजिक छिन् भने देशभर भ्रमण पनि गरिरहेकी छन्। ‘भण्डारीजी विभिन्न यात्रा भन्दै देशभर पुगिसक्नुभएको छ। अब केही दिनमा कर्णाली पुग्ने पनि खबर छ’, एमालेका एक नेता भन्छन्।
अर्को कुरा, एमालेमा ओलीप्रतिको नकारात्मक असर पनि हो। ओली जसरी आफूलाई ‘ब्रान्डिङ’ गर्न चाहन्थे, त्यो अवस्था अहिले छैन। विगतमा ओली निकटस्थ मानिनेहरू नै पनि अहिले टाढिएका छन्। ओलीका पछिल्ला क्रियाकलापप्रति एमाले नेताहरू नै प्रश्न उठाइरहेका छन्।
विगतमा ओली निकटस्थ मानिने विन्दा पाण्डे, गोकुल बास्कोटाहरू समेत पछि हटेका छन्। पाण्डे त ओलीविरुद्धमा आवाज उठाउँदा कारबाहीमा परेकी छन् भने बास्कोटा भण्डारी निकटस्थ छन्। ओली अवस्था बिग्रिनुभन्दा पहिलै महाधिवेशन गराइहाल्ने पक्षमा रहेको नेताहरू बताउँछन्। ‘अहिलेको एमालेको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै ओली फेरि शक्तिमा आउन चाहन्छन्,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘यही कारण उहाँ (ओली) ले प्रतिस्पर्धीलाई प्रतिकूल हुने समय रोज्दैछन्।’
डर विद्याको, बहाना ०८४ चुनावको
एमालेमा अहिले ओलीलाई सबैभन्दा बढी विद्याकै डर छ। कुनै बेला ओली प्यानलबाटै राजनीति गरेकी उनी अब एमालेको नेतृत्व हाँक्ने तयारीमा छिन्। विद्याका पछिल्ला अभिव्यक्तिबाट पनि यो प्रस्ट हुन्छ।
विद्या एमालेले पाउने भागबन्डामा पनि मिसिरहेकी हुन्छिन्। आफ्नो प्यानलबाट पनि प्रतिनिधित्व हुनुपर्ने उनको दबाब रहने गरेको एमाले नेताहरू सुनाउँछन्।
पछिल्ला जिल्ला/प्रदेशको महाधिवेशनबाट पनि विद्याका पक्षमा वातावरण बढेको बुझाइ उनी निकट नेताहरूको छ। यही कारण पनि एमाले नेताहरू खुलेर अहिले विद्याको पक्षधरता देखाइरहेका छन्।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा विद्या अध्यक्ष आउनुपर्ने दाबी गर्दै आएका छन्।
एमाले नेताहरू नेता ०८४ को चुनावलाई आधार बनाएर महाधिवेशन छिटो गर्न लागेको बताउँछन्। ‘०८३ मा महाधिवेशन गरेर ०८४ मा चुनावमा जाँदा हामीमा चुनावको धङधङगी हुन सक्छ,’ एमाले स्थायी कमिटी सदस्य अधिकारी भन्छन्, ‘यसले गर्दा हामीले ०८२ मै महाधिवेशन गर्नु उपयुक्त हुन्छ।’ जिल्ला र प्रदेश अधिवेशन सकिएकाले अब महाधिवेशनमा लाग्ने उनले बताए।
‘विधान सम्मेलन समयमा भएमा हामीले चैतसम्ममा महाधिवेशन गर्न सक्छौँ,’ एमाले सचिव पद्मा अर्याल भन्छिन्। अर्यालका अनुसार ०८४ मा दुईतिहाई ल्याउने गरी लाग्न पनि एमालेलाई सांगठनिक रूपमा दह्रो बनाउनु आवश्यक छ।
सर्वमान्य बन्ने ओली दाउ
एमालेको विधान सम्मेलनले विधिका विषयमा छलफल गर्नेछ। ओलीले आफूलाई प्रतिकूल हुने उमेर हदको नियम यसअघि नै निलम्बन गरिसकेका छन्। एमाले नेताहरूका अनुसार आउँदो विधान सम्मेलनबाट उमेर हद (७० वर्षे) हट्नेछ। त्यसपछि ओलीलाई उमेरको बाधा पर्ने छैन।
यसअघि एमालेमा ७० वर्षे उमेर हद लागू भएको थियो। एमाले नेताहरूका अनुसार ओलीले आफ्ना प्रतिस्पर्धी मानिने केही नेतासमेत यसअघि नै एमालेबाट हटाइसकेको/हटेका छन्। १० औँ महाधिवेशन पूर्वार्धमै माधव नेपाल, झलनाथ खनाल एमालेबाट बाहिरिएका छन्। ओलीकै प्रतिस्पर्धी मानिएका वामदेव गौतम सक्रिय छैनन्।
१० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर ओलीको प्रतिस्पर्धीमा उत्रिएका भीम रावल पार्टीबाट निकालिएका छन्। एमाले स्रोतका अनुसार ओलीको शैलीप्रति प्रश्न उठाउने रावल फेरि अध्यक्षमा उम्मेदवारी दिने सम्भावना थियो।।
‘रावललाई उपयुक्त समयमा निकालिएको हो। न चुनाव, न अधिवेशन,’ एमालेका ती पदाधिकारी भन्छन्, ‘रावललाई हटाएपछि अब सुदूरपश्चिममा समेत एमाले नेताहरूले कित्ता स्पष्ट गर्न सहज भएको छ। महाधिवेशनसम्ममा सबै सामान्य हुन्छ।’
अब ओलीको प्रतिस्पर्धामा विद्या मात्र छिन्। त्यसैले विद्याले सक्रियता बढाउनुपूर्व नै ओली महाधिवेशन गर्न चाहन्छन्। ‘विद्याजी अध्यक्ष बन्ने गृहकार्यमा भर्खर लाग्नुभएको छ। ओली यसै बेला उपयुक्त ठान्दै हुनुहुन्छ’, ती पदाधिकारी भन्छन्।
एमाले सचिव अर्याल भने नेतृत्वलाई दह्रो बनाउन पनि महाधिवेशन अपरिहार्य रहेको बताउँछिन्। ‘महाधिवेशनले चुनावलाई असर नपरोस् भन्नका लागि उपयुक्त समयमा महाधिवेशन गर्नुपर्छ’, उनी भन्छिन्।