
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको बताएका छन्।
राजधानीमा बुधबार १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्त्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए।
उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रचण्डले ठेक्दारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे। राम्रो काम गर्दागर्दै सरकारबाट हट्नुपरेको बताउँदै उनले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गरे।
सामाजिक सुरक्षाको विस्तार, मिटर ब्याजपीडितको समस्या समाधानका लागि लिएको पहलकदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाअन्तर्गत ल्याउने पहलसहित कार्यलाई श्रमजीवी वर्गको हितमा माओवादीले गर्न खोजेका उल्लेखनीय काम भएको बताए।
‘हामीले जनयुद्धमा श्रमिक वर्गसँग गरेको अपिल र उनीहरूको त्याग अनुसार काम गर्न सकेनौं कि भन्ने आत्मसमीक्षा गरेका छौँ’, प्रचण्डले भने। उनले भ्रष्टाचारविरुद्धको संघर्ष, तराई मधेशसहित का अभियानमा जनताको दुःख देखेर गरिएको आत्मसमीक्षा र जनता आफ्नो वर्गसँगको सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको स्पष्ट पारे।
झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै प्रचण्डले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले भने, ‘राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो तर हामी जनतासँग छौँ, वर्गसँग छौँ।’