
काठमाडौँ- राजधानीको काठमाडौँको माइतीघर-नयाँबानेश्वर सडकमा प्राय: विरोध र आन्दोलनका कार्यक्रम भइरहन्छन्। त्यस्ता आन्दोलनमा केही अनुहार यस्ता पनि देखिन्छ, जसका लागि आन्दोलन रोजगारी र आम्दानीको नयाँ अवसर बनेको छ। सर्लाही, बर्दिया र जुम्लाका यी पात्र राजधानीको भीडमा आफ्नो सानो व्यापार लिएर संघर्ष गर्दै छन्- एक थान आशाका लागि।
शिक्षक आन्दोलनको उथलपुथलबीचमा उनीहरूको व्यापार निकै फस्टाएको छ। फलफूलको ठेलामा उभिएका प्रेम चौधरी मुस्कुराउँदै भन्छन्, ‘पहिलेको तुलनामा अहिले फलफूल धेरै बिक्री हुन्छ। आन्दोलनकै कारण हो यो।’
सर्लाहीका स्थायी बासिन्दा चौधरी काठमाडौँमा फलफूल बेचेरै दशक बिताइसकेका छन्। धेरै पढ्न पाएका छैनन् तर सडक छेउको उनको व्यापार भने जीवनको मेरुदण्ड बनेको छ। शिक्षक आन्दोलनका कारण सडकमा भीड बढेपछि आम्दानी पनि बढेको छ।
उनले आफ्नो कान्छो छोरालाई पनि व्यापारमा संलग्न गराएका छन्। ‘शिक्षकहरू आन्दोलनमा भीड लाग्दा व्यापार राम्रो भयो। छोरालाई पनि यही सिकाउँदै छु’, उनी गर्वसाथ भन्छन्।

काँक्रोको चिसो स्वाद र पानीको घुट्को लिएर शिक्षक आन्दोलनमा उभिएका मानिसलाई प्यास मेटाइरहेका छन्- श्याम मैनाली। असन नजिकैको गल्लीमा बस्ने मैनाली काँक्रो र पानी बेच्दै साइकल गुडाउँछन्।
‘बर्दियाबाट आएको हुँ, धेरै पढ्न पाइनँ। यतै आएर जीवन चलाइरहेको छु,’ उनी भन्छन्।
आन्दोलनमा मानिसको भीड देखेर उनी आशावादी बने। ‘आन्दोलनका दिनमा नाफा बढ्छ। बिक्री पनि राम्रो हुन्छ’, उनी भन्छन्। केही वर्षदेखि यही सानो व्यापारमा टिकेका मैनालीका लागि आन्दोलन एक सुनौलो अवसरजस्तै बन्यो।
डल्लु बस्दै आएका जुम्लाका हिमकला बुढा र उनका पति कृष्ण बुढा सादा तर प्रेरणादायी जीवन बाँचिरहेका छन्। उनीहरूले जुम्लामा पाइने सिलाजित, टिमुर, जाइफल, हिङसहितका जडिबुटीहरू काठमाडौँ ल्याएर बेच्ने गरेका छन्। आन्दोलनको दिनमा उनीहरू नेपालको झन्डा र ढाकाको टोपी पनि बोकेर सडकमा निस्कन्छन्।
‘जुम्लामा पढ्न सकिएन। यही व्यापार नै हाम्रो सहारा हो’, हिमकला भन्छिन्, ‘यही आम्दानीले छोराछोरी पढाउँदैछौँ, भान्सामा चुलो बल्दैछ।’ उनीहरूका अनुसार स्थानीय उत्पादन भएका जडिबुटीहरू काठमाडौंमा राम्रोसँग बिक्छन्। ग्राहकले रुचाउने गरेको बताउँदै उनी गर्वसाथ भन्छिन्,’धेरै नाफा त छैन, तर आत्मनिर्भर छौँ।’
यी तीन फरक कथा एउटा साझा धागोले गाँसिएका छन्- परिश्रम, आत्मनिर्भरता र साना अवसरहरूको सदुपयोग। शिक्षक आन्दोलन कसैका लागि राजनीतिक प्रतिरोधको स्वर हो त कसैका लागि परिवार धान्ने माध्यम। जहाँ केहीले आन्दोलनलाई अधिकारको लडाइँ ठाने, त्यहीँ कसैले आन्दोलनको भिडमा जीवन बाँच्ने बाटो देखे।